सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।
बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारीका जिल्ला इन्चार्ज प्रेम दाहाल, द्धारिका काफ्ले, वागमती प्रदेश कमिटी सचिव विदुर पौडेल, प्रेस सेन्टरका अध्यक्ष नवीन श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीकी उपाध्यक्ष सरला सुनुवार, सचिव पुष्कर थापा, कोषाध्यक्ष अनिल भण्डारी एमाले प्रचार विभाग उपप्रमुख बुद्धकुमार आछामी, फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङलगायतको उपस्थिति रहेको थियो ।
प्रेस चौतारी सिन्धुलीका अध्यक्ष बिनय दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वर्गीय पत्रकार रानालाई पत्रकार महासंघको सदस्यता दिन नसकेको विषयमा चर्चा चलेको थियो । जो सक्रिय थिए उनीहरुलाई सदस्यता दिइन, गैर पत्रकारलाई सदस्यता दिंदा हामी लज्जित भएका छौं, अतिथिका रुपमा सम्वोधनगर्दै वक्ताहरुले भने । श्रद्धाञ्जली सभामा बोल्ने अधिकांश वक्ताहरुले पत्रकार महासंघले क्रियाशिल पत्रकारलाई मात्रै सदस्यता दिन र गैर पत्रकारहरुको प्रवेश रोक्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रेस चौतारीले आगामी वर्षदेखी प्रदान गर्नेगरी अञ्जन स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
त्यसैगरी जनजाति पत्रकार संघ सिन्धुलीले मंगलवार साँझ पत्रकार रानाको सम्झनामा दिप प्रज्वलन गरेको छ । यस अगाडि उनीहरुले एक कार्यक्रमका बीच पत्रकार रानाको श्रीमतीलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । फोनिजले हिजै साधारणसभा सम्पन्न गरेको छ ।