सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस क्षेत्रका नागरिकले वर्षायाममा पनि विगतमा जस्तै सास्ती व्यहोर्नु पर्ने अबस्था देखिएको छ ।
फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारका अनुसार ५ करोड बढीमा ठेक्का संझौतापछि काम थालेको आत्रेय निर्माण सेवाले पुल निर्माणको काम बीचमै रोकेपछि आफुहरुले पटक पटक ताकेता गर्दासमेत कुनै सुनुवाई नभएको बताइन् । उनले मध्य पहाडी लोकमार्ग निर्माण आयोजनाका प्रमुख डिई दिपेन्द्र पाण्डेलाई पनि पटक पटक पुल निर्माणको काम अगाडि बढाउन आग्रह गर्दा पनि काम अगाडि बढ्न नसकेको र नागरिकहरुले सास्ती खेप्नु पर्ने देखिएको उनको गुनासो छ ।
बिवादास्पद पप्पु कन्ट्रक्सनले अलपत्र पारेको उक्त पुलको ठेक्का संझौता रद्दगर्दै आयोजनाले रविन्द्र कुँवर प्रोपाइटर रहेका सिन्धुलीको आत्रेय निर्माण सेवासँग नयाँ संझौता गरेको थियो । सरकारले पप्पु कन्ट्रक्सनलाई कालोसुचीमा राखेपछि आयोजनाले ठेक्का संझौता रद्द गरेको बिबरण वाहिर आएको थियो ।
केही दिन अगाडि मात्रै सोही स्थानमा एउटा बोलेरो दुर्घटनाहुँदा आधा दर्जन मानिसहरु घाइते भएका थिए । पुल निर्माण अलपत्र पारिएको वारे आयोजना प्रमुख दिपेन्द्र पाण्डेसँग सन्देश जनप्रिय साप्ताहिकले जिज्ञासा राखेको थियो । हामीले निर्माण कम्पनीका प्रमुख रविन्द्र कुँवरलाई पटक पटक काम गर्न आग्रह गरेका थियौं, तर अहिले त फोन नैं उठाउन छोडेका छन् । हामीले उनलाई काम गर्ने मौका पनि दियौं तर उनले त कामै गरेनन्, सिन्धुलीको आत्रेय निर्माण सेवा पप्पु कन्ट्रक्सन भन्दा पनि खराब देखियो, आयोजना प्रमुख पाण्डेले भने ।
आत्रेय निर्माण सेवाले मध्यपडाडी लोकमार्गको सोखुखोला पुल मात्रै होइन अन्यत्रको काम पनि अलपत्र पारेको हामीकहाँ विवरण आएको छ, अब उक्त निर्माण कम्पनीलाई कालो सुचीमा राख्दै ठेक्का संझौता रद्द गर्नु पर्ने अबस्थामा हामीहरु पुगेका छौं, पाण्डेले अगाडि भने ।
आयोजनाका अनुसार पुल निर्माणको क्रममा आत्रेयलाई झण्डै १ करोड रकम भुक्तानी दिई सकिएको छ । भुक्तानी लिएपछि कामै भएन, आयोजना कार्यालयले भन्यो । उँआयोजनाले निर्माण कम्पनीलाई कालोसूचीमा राखे आत्रेय निर्माण सेवाले नेपालको कुनै पनि स्थानमा काम गर्न पाउने छ्रैन ।
फिक्कल गाउँपालिका अध्यक्ष सामाजिक सञ्जाल फेसवुकमा लेख्छिन्ः पुल नबन्दाको परिणाम आज फेरी गाडी दुर्घटना भयो । मध्यपहाडी लोकमार्गमा पर्ने हाम्रो फिक्कल गाउँपालिकामा पर्ने सोखुखोला र खाङसाङ खोलाको पुल निर्माणकार्य रोकिएको अवस्था छ । निर्माण कार्य जिम्मा पाउने कम्पनी आत्रेय निर्माण कम्पनी र आयोजना प्रमुखज्यु, सडक विभाग, भौतिक पुर्वाधार मन्त्रालय सिंहदरबार काठमाडौं, तपाईं सम्पूर्ण जिम्मेवार पक्षहरु प्रति हाम्रो प्रश्न छ, कहिलसम्म बन्लान् त यी पुलहरु ?
हामी सधैं यात्रुले पाएको दुःख कष्टकर यात्राको साक्षी बनिरहेका छौं । हामीले नागरिकको गुनासो सुनेका छौं । हामीले पहल पत्राचार फोन सम्पर्क गरेका छौं तर अझै काम अगाडि बढेन र नागरिकले विगतमा पाएका सास्ती ।


यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।











