
झन्डै १३ वर्षदेखि सिन्धुलीमा कार्यक्षेत्र बनाएर काम गरिरहेको प्लान इन्टरनेसनल नेपालले साझेदार संस्थामार्फत करोडौं रूपैयाँ खर्च भइसकेको प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको उपलव्धी वारे गंभीर प्रश्न उठेको छ । पछिल्लो ५ वर्षमा २० करोड बढी बजेट खर्च गरेको प्लानले सिन्धुली जिल्लामा गरेको लगानी बालुवामा पानीहाले सरहभएको सरोकारवाला पक्षले बताउन थालेकाछन् ।
प्लान इन्टरनेसनलले सिन्धुलीमा शिक्षा, खानेपानी तथा सरसफाइ, बालबालिकाको संरक्षण तथा बालविकास, नेतृत्व र निर्णय, बालबालिकाको समान रूपमा सिक्ने परियोजना, कोभिड–१९ पुनस्र्थापना परियोजनालगायत क्षेत्रमा काम गरेको भन्दै ५ वर्षमा २० करोड ९३ लाख रूपैयाँ खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेपछि लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको देखिएको छ ।
सदरमुकाम सिन्धुलीमाढीमा भएको बालकेन्द्रित सामुदायिक विकास कार्यक्रमको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा प्लान नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा भौतिक पूर्वाधार विकासभन्दा धेरै सफ्टवेयरमा काम गरेको बिबरण सार्वजनिक गरिएको थियो । प्रतिवेदनमा हार्डवेयरमाभन्दा धेरै सफ्टवेयरमा काम भएको देखाइएको छ । प्लानले केही स्थानमा विद्यालय भवन निर्माण गर्ने तथा खानेपानीमा काम गर्ने गरेको देखिएपनि अधिकांश बजेट क्षमता विकास र व्यवहार परिवर्तन तथा जनचेतनामूलक कार्यक्रम गरेको भन्दै डरलाग्दो खर्च विवरणले प्लान फण्डेड एनजिओ र त्यसका मालिक पोस्ने भन्दा अरु उपलव्धी नभएको बताउन थालिएको छ ।
प्लान नेपालका कार्यक्रम अधिकृत नृहितकुमार झाले प्लानले बालबालिकाको क्षेत्रमा धेरै काम गरेको बताए । उनले जिल्लाका ६ ओटा पालिकामा काम गरिरहेको जानकारी दिए । सन् २०१८ देखि २०२३ सम्ममा ३८ करोड पाँच लाख ७४ हजार बजेट रहेकोमा हालसम्म २० करोड ९३ लाख रूपैया खर्च भइसकेको उनले जानकारी दिए । तर उनले वालवालिकाको फोटो खिच्दै उनीहरुको गरिवी बेचेर सिन्धुलीमा कति रकम आयो भन्ने तथ्य खुलाएका छैनन् ।
प्लान नेपालले सिन्धुली स्थित दुर्गम गाउँका वालवालिकाहरुको फोटो खिचेर विदेशी सञ्चार माध्यममा उनीहरुको गरिवीको विज्ञापन प्रकाशनगर्दै रकम संकलन हुने गरेको छ । प्लानले गरिव तथा विपन्न परिवारको बालवालिकाको फोटो खिच्ने भनेर दुई दर्जन भन्दा भढी शिक्षक र सरकारी कर्मचारीको छोराछोरीको पनि फोटो खिचेर कापी र झोला लिंदै आएको तथ्य खुलेको छ । यद्यपी यस विषयलाई साझेदार संस्थाहरुले लुकाएकाछन् ।
जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले समन्वय समितिको अनिर्देशनलाई प्लानले स्वीकार गर्नुपर्ने भन्दै दुर्गम पालिकालाई छाडेर सुगममा मात्रै प्लान पुगेकाले दुर्गममा समेत जान अनुरोध गरेका थिए ।
जहाँ विकट छ, त्यहाँ अझै प्लान पुगेको पाइएन, विकटका पालिकामा प्लान पुग्नुपर्छ उनले भने । साथै समन्वय समितिसँग समन्वयकारी भूमिका खेलेरमात्र काम गर्न प्लानलाई समन्वय प्रमुखले आग्रहसमेत गरे ।
यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ लेखेको छ ।