सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको वार्षिक उत्सव तथा साधारण सभा आइरहेको पुर्व संध्यामा नयाँ तथा पुराना खानेपानी आयोजनाहरुका भौतिक संरचना तथा मुहानहरुको अनुगमन गराएको छ ।

संस्थाले शुक्रबार गडौली ठूलिटारमा बन्दै गरेको नया आयोजना, मिलनचोकमा बन्दै गरेको आयोजना कात्तिकेमा रहेको नयाँ आयोजना तथा पुराना आयोजना, हिरापानीमा निर्माण गरिएको आयोजना र भद्रकालीको फेदीमा रहेको पानीको मुहान समेतको सर्वदलिय, सर्वपक्षिय अनुगमन गराएको हो ।
संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, संस्थाका पदाधिकारी, सदस्यहरु, पत्रकारहरु, राजनीतिक दलका प्रतिनिधिहरु, खानेपानी आयोजनाका उपभोक्ताहरु, विभिन्न सरोकारवालाहरुलाई खानेपानीको अवस्था, मुहानको अवस्था र प्रगतिको अनुगमन गराएको हो ।

अनुगमनका क्रममा मुहानको सरसफाई, फिल्टर ट्यांकीको अवस्था, मुहानको सरसफाई तथा अवस्थाको बारेमा प्रत्यक्ष अवलोकन गरिएको छ । संस्थाले ५ वटा मुहानबाट खानेपानी वितरण गरिरहेको छ भने २ वटा मुहान र आयोजनाको खानेपानी करीब ६ महिनाभित्र सञ्चालनमा आउने तयारी रहेको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।
उनका अनुसार कमलामाई नगरपालिकाका ४, ५, ६ र ७ का करीब ३५ हजार नागरिकले सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले वितरण गरेको खानेपानी खाँदै आएका छन । बाग्मति प्रदेश सरकारको २१ करोड लगानीमा बन्दै गरेको गडौली (ठूलीटार) र मिलनचोकको आयोजना सम्पन्न हुदा थप २ हजार धारा वितरण गर्न सकिने श्रेष्ठले बताए ।
ती योजना सम्पन्न हुन ६ महिना लाग्ने र ८० प्रतिशत काम सकिएकाले सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पानीको समस्या समाधान हुने उनले बताए ।