द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।
पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको प्रतिनिधित्व गर्ने दुईवटा ठूला दलको राजनीतिक प्रहसनले सबैलाई छक्क पारेको छ ।
हिजो वर्ग संघर्षबाट विजय प्राप्त हुन्छ भन्नेहरु अहिले भ्रमपूर्ण सम्बन्धले सत्तारूढ हुन पाईन्छ भन्ने ठहरमा पुगेको जस्तो देखिन्छ ।
अहिलेको पार्टी वा संगठन देश र जनताको लागि नभएर ब्यक्तिको श्रीवृद्धी र रफ्फु रवाफ देखाउनका लागि सचेत कार्यकर्ता र जनमतको दुरुपयोग भएको जनमानसमा प्रष्ट भएको देखिन्छ । यसल के ठिक के बेठिक हो ? भन्ने छुट्याउन नसकेर मानिसहरु दिग्भ्रमित बन्दै आएका छन् । विना कारण फुट्ने र विना कारण जोडिने एमाले र माओवादी जस्तै कम्युनिस्ट पार्टीको ब्यवहारले को ठिक ? को बेठिक ? छुट्याउन सर्वसाधारणलाई मात्रै होइन कार्यकर्ता र समर्थकलाई हम्मेहम्मे पर्न थालेको महशुस भइरहेको छ ।
आफैसँग भएका कम्युनिस्टलाई ठोक्ने एमाले ठिक कि आफ्नो वर्गमित्रलाई सत्ताच्युत गरेर जनताले परास्त गरेको (माओवादीको परिभाषामा दलाल तथा सामन्त वर्गको पार्टी) नेपाली कांग्रेसलाई पुन सत्तामा बिराजमान गराउने माओवादी ठिक ? उत्तर सहज छैन ।
हिजो २०७४ सालमा जुटेर फेरि २०७७ सालमा फुटेर फेरि २०७९ सालमा सबै हिसाबले कमजोर भए पछि फेरि गठबन्धन गर्न पुगेका एमाले र माओवादीले कसरी यो गोलमटोल राजनीतिको परिभाषा दिन्छन् त्यो भने हेर्न बाकी छ । जनतालाई झुक्याएर राजनीति गर्न सकिँदैन तर यस मामलामा हाम्रा कामरेडहरुले महारत हाँसिल गरेका छन् ।
यो हदसम्म कांग्रेसले पनि जनतालाई उल्लु बनाउन सकेको छैन । तर कमरेडहरु जनतालाई पटक पटक उल्लु बनाउने काम निरन्तर जारी छ । भारतलाई ठुल्दाजु होइन बराबरको देश हो भन्ने क.ओलीको भनाइलाई नाटकै हो भन्न प्रचण्ड प्रधानमन्त्री बनेकाछन् । अब हेर्नु छ भारतलाई ठुल्दाजु भन्छन् कि बराबरको देश भनेर नौटंकी गर्छन् आउने समयले प्रष्ट पार्दै जानेछ । धन्यवाद ।