गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय– निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने उद्घोष गरेका छन् ।  सोमबार गृहमन्त्रीको सपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री लामिछानेले निर्मलाको न्यायका लागि अधिकतम पहल गर्ने नै आफ्नो पहिलो निर्णय भएको बताएका छन् । 

उनले सबेभन्दा शान्ति सुव्यवास्थाका लागि गृह प्रशासनले गर्नुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताए। ‘आम नागरिकले शान्ति सु–व्यवस्थाको महशुस कतिको गरिरहेका छन्, त्यसमा महत्पूर्ण निर्णय गनुपर्ने हुन्छ । त्यसलाई प्राथमिकतामा राखेर आम जनजिविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्छु । संगठनको मनोबल उच्च पार्नको निमित्त विधिको शासन कायम गर्ने कुराहरुमा बढी जोड दिन्छौं,’ मन्त्री लामिछानेले भने । 

पदभार ग्रहण कार्यक्रममा उनलाई आफूमाथि लागेको नागरिकता आरोपबारे सोधिएको प्रश्नमा उनले न्याय सम्पादनमा कुनै प्रभाव नपर्ने भन्दै आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा कुनै सम्झौता नगर्ने दावी गरे ।