वर्ग शत्रु र मित्रु चिनेर गरिएको व्यवहार


नेपाली सत्ता राजनीति फेरी एक पटक यूटर्न भएको छ । आफुलाई कम्युनिष्ट भन्ने शक्तिहरु विगतको विभाजन र सत्ता गुमाउनुको तीतो अनुभवबाट गहिरो पाठ सिक्दै एकै ठाउँमा उभिन पुगेपछि त्यसले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव रोकिएको मात्रै छैन, एशियाको भू–राजनीतिमासमेत एकताको सन्देश दिएको छ ।
गतसाताबाट चीन र रसिया बीच संयुक्त सैन्य अभ्यास प्रारंभ भएको छ । जारी युक्रेन युद्धलाई सघाईरहेको अमेरिकी गठबन्धनलाई एशियामा रोक्न र उसको अतंकवादी प्रभाव कम गर्न दुई मुलुक बीच सैन्य अभ्यास थालिएका बेला सामरिक हिसावले महत्वपूर्ण मानिएको नेपालको सत्ता राजनीतिमा चिनियाँ र भारतीय प्रभाव बढ्नुलाई अर्थपूर्ण रुपमा लिन थालिएको छ ।
विगतमा सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारत अहिले नेपालमा पश्चिमा विरोधी सरकार बनाउन सफल भएको अर्थका रुपमा लिनुपर्ने हुन्छ । किनकी प्रचण्ड प्रधानमन्त्री भए लगत्तै चिनियाँ र भारतीय अधिकारीको सहकार्यात्मक स्वागतको अभिव्यक्तिले सोही कुरालाई पुष्टि गर्दछ । तत्कालिन समयमा नेकपा बिभाजन रोक्न र एमसिसि सदनबाट पारित नगराउन सक्रिय रहेको चीनले यसपटक भने नेपालका कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा उभ्याईदिएका छन् । जुन कुराले एशियाको भूराजनीतिमा निकै ठूलो अर्थ राखेको देखिंदैछ ।
माओले भन्दै आएका थिएः हरेक नेता तथा कार्यकर्ताहरू साहसी र दृढ हुनुपर्छ । गलत चिन्तनबाट मुक्त हुनुपर्छ साथसाथै उनीहरू दोषबाट मुक्त पनि हुनुपर्छ । पार्टीको सिद्धान्त र विचार जनताको दैलोमा पु¥याउने हुनुपर्छ । सही किसिमको काम गर्नुपर्छ । काम गर्ने कुशल तरिकाको खोजी गर्नुपर्छ । आलोचना गर्नुपर्छ । आलोचनादेखि डराउनुहुँदैन । आलोचना तथा आत्मालोचना नेता तथा कार्यकर्तालाई अझ सुसूचित पार्ने माध्यम हो । सही समयमा सही निर्णय गर्नुपर्छ । निर्णय दृढतापूर्वक लिन आवश्यक छ । सायद विगतमा आफ्नो हातबाट सबै कुरा गुमेको नमिठो अनुभूति गरेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको सत्ता सहकार्यले चिनियाँ नेता माओको सिकाईलाई अनुभूत गरेको हुनुपर्छ ।
कुनै समस्या हल गर्नुभन्दा पहिले त्यो समस्याको बारेमा छलफल गर्नुपर्छ र बुझ्नुपर्छ । समस्याबारे छलफल गर्दा विचार व्यक्त गर्ने मौका दिनुपर्छ । कुनै पनि समस्यालाई ढाकछोप गर्नुहुँदैन । कुनै समस्या हल गर्नु छ भने गतिरोध तोड्नुपर्छ । समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाबारे स्पष्टसँग बताउनुपर्छ । हामीले हचुवाको भरमा होइन सोचेर बोल्नुपर्छ, कम्युनिस्ट चरित्रलाई प्रोत्साहित गर्नुपर्छ । आफ्नो कुरा नडराइकन राख्नुपर्छ, माओबाट कम्युनिष्ट भनिने कार्यकर्ताहरुले पनि यीनै कुरा सिक्न जरुरी छ ।
हरेक नेता तथा कार्यकर्ता जिम्मेवार बन्नुपर्छ, जिम्मेवारी पूरा गर्न अघि बढ्नुपर्छ । जनतामाझ के सन्देश पु¥याउने या के के देश र जनताका समस्या अघि बढाउने सन्दर्भमा चिन्तनमनन गर्नुपर्छ । नेता तथा कार्यकर्ताले जनतामाझ आ–आफ्नो मनको बह पोखेरमात्र जनता सुसूचित हुँदैनन् । मनोगतरूपले, असम्भव हुने ढङ्गले योजना तयार गरेर पूरा हुँदैन । परिस्थितिअनुसार मानिसको सोचाइमा परिवर्तन हुनुपर्दछ । कम्युनिस्टहरू समाजवादी निर्माणमा जुट्नुपर्छ । हामी समझदार बन्नुपर्छ । हामीमा सुझबुझ हुनुपर्छ । जनताका समस्या या विचार सुन्नुपर्छ, सुन्ने आँट हामीमा हुनुपर्छ तर ती कुराहरु क्रमशः हराउँदै गएका थिए र आफ्नो दम्भमा अडिग थिए ।
नेता तथा कार्यकर्ता पार्टीको नेतृत्व र जनसमुदायबाट अलग हुनुहुँदैन । जो नेकपा बिभाजनपछि भएका थिए । कम्युनिष्टहरू घमण्डी र अहंकारी हुनुहुँदैन । उनीहरू अल्छी र स्वेच्छाचारी हुनुहुँदैन । उनीहरू जनतामाथि भरोसा राख्छन् । उनीहरू कसैको गलत कुरा खण्डन गर्न पछि पर्दैनन् । तर, खण्डनको नाउँमा जथाभावी बोल्दैनन्, मनपरी गाली गर्दैनन्, दिग्भ्रमित कुरा फलाक्दैनन् । वास्तविक कुरा ढाकछोप गरेर झूट बोल्दैनन् । एउटा गल्ती छोप्न अर्को गल्ती गर्दैनन् भन्ने कुरा नेकपा विभाजनपछि चट्टानी अडानमा रहेका ओलीनै एउटा उदाहरण हुन् जसले सबै कुरा बिर्सेर फेरी पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएरै छोडे र कम्युनिष्ट पार्टीको सरकार बनेको देख्ने जनतको आशा र इच्छामा थोरै भएपनि आशा जगाए ।