तत्कालिन नेपाल कम्युनिष्ट पार्टीको विभाजन र तत्कालिन अध्यक्ष केपी शर्मा ओलीमाथि लागेको प्रतिगमनको आरोप माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री भएसँगै समाप्त भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच विगतमा नेकपा विभाजन र निर्वाचनमा कम्युनिष्टहरुबीच एकता गराउन नसकेकोमा गम्भीर भुल भएको निश्कर्षसहित आउँदो पाँच वर्षसम्म कम्युनिष्ट नेतृत्वमै सरकार बनाउनु पर्छ भन्ने सहमति कायम भएपछि फुट र प्रतिगमन परास्त भएको छ । साथ साथै नेकपाको विभाजन र त्यसपछि भएका स्थानीय प्रदेश तथा संघीय निर्वाचनले दिएको चोट पछि दुई शिर्ष नेताहरुको चेत पलाएको हुनुपर्छ ।
एमाले नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी नेपाली सत्ता राजनीतिको नेतृत्व गर्न आइपुगेपछि आपसी कटुता क्रमश: विश्वासमा रुपान्तरण हुन पुगेको देखिएको छ । यो विश्वास र एकतालाई नेपालको एउटै कम्युनिष्ट केन्द्र बनाउने तर्फ अग्रसर गराउन आवश्यक छ । पार्टी केन्द्रदेखी स्थानीय पार्टी कमिटीसम्म घनिभूत छलफल र मन्थन गराउँदै एमालेलाई नेपालको कम्युनिष्ट केन्द्र र मूल प्रवाहका रुपमा स्थापित गराउन अध्यक्ष केपी शर्मा ओलीले पहल कदमी थाल्न आवश्यक छ ।
नेपाली जनता बलियो र एकताबद्ध कम्युनिष्ट पार्टी र त्यसैको नेतृत्वमा स्थायी सरकार भएको देख्न चाहान्छन् । त्यसैले हामी सबैले एकै साथ भन्नै पर्ने भएको छ: अब आफ्नो स्जार्थका लागि होइन, देश र सर्वहारा श्रमिक जनताको स्वार्थका लागि नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाइनु पर्छ र त्यसको पहल ओली र दाहालबाटै थालनी गरिनुपर्छ ।











