सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुका लागि दक्षिण कोरियाबाट ल्याइएको ८१ वटा बाच्छीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
हिजो शनिवार सिन्धुली आइपुगेको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक कुमार खरेलले कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेललाई हस्तान्तरण पछि आज सिन्धुलीका किसानहरुलाई हस्तान्तरण गरिएको हो ।
६ महिना देखि ८ महिनासम्मका कोरली होलस्टिन बाच्छीहरु कमलामाई नगरपालिका ५ का ८१ जना किसानलाई प्रदान गरिएको हो । उक्त गाईका बाच्छिहरुबाट १७ महिना भित्रमा नगरका किसानले दुग्ध उत्पादन, ब्यवस्थित र जिम्मेवारयुक्त पशुपालन गर्ने तरिका र आय आर्जनमा गौरव महशुस गर्ने नगर प्रमुख पोख्रेलले कार्यक्रममा बताएका थिए ।
नेपाल सरकार कृषि तथा पशुपंक्षि मन्त्रालय, हेफर इन्टरनेशनल नेपालले कमलामाई नगरपालिकाको शिफारिशमा वडा नंं. ५ मा गाई पालनको लागि तोकिएको थियो ।
सोही वडामा नगरपालिकाको सहयोगमा उक्त गाई राख्नको लागि ब्यवस्थीत गोठ निर्माण भइसकेको बताउँदै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले जानकारी दिइन् ।
उनका अनुसार कमलामाई नगरपालिका ५ मा बनेका चार वटा सामाजिक उद्यमी महिला कृषक समूहमा आबद्ध भएका ५० जना महिलाहरुलाई बाच्छी उपहार दिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका प्रतिनिधिसभा सदस्य राजन दाहालले कोरियाबाट ल्याइएका होलिस्टिन जातका बाच्छी महिला किसानहरुलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरपछि कार्यक्रमलाई सम्बोधनगर्दै दाहालले कोरियाले दिएको उन्नत जातका बाच्छीहरुबाट उत्पादन भएको दुधले सिन्धुली र देशकै दुग्ध क्षेत्रमा ठुलो टेवा पुर्याउने विश्वास व्यक्त गरे । यी बाच्छीहरुबाट उन्नत जातका गाईको विकास गर्न सहयोग पुग्ने उनको भनाई थियो ।
उनले कृषिमा उत्पादन बढाउन र किसानको जिवनस्तर उकास्न व्यवसायीक कृषिमा जोड दिनुपर्ने बताउँदै यी बाच्छीहरु राम्रो पालन पोषण भएमा सिन्धुली उन्नत जातका गाईको स्रोत केन्द्रको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे ।
मेरो कामको थालनीले पूर्णता पायो: खड्ग खत्री
यसैबीच कमलामाई नगरपालिकाका तत्कालिन नगरप्रमुख खड्गवहादुर खत्रीले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ:
कमलामाइ नगरपालिका वडा नं ५ का कृषक दाजुभाईहरुमा हार्दिक धन्यवाद । कमलामाई नगरकार्यपालिकामा हामी हुँदा सुरुवात गरेको कामले पुर्णता पाएकोमा मलाई निबर्तमान नगर प्रमुखको हैसियतले अत्यन्तै खुसी लागेको छ ।
धैरै छलफल पश्चात, मिल्क वे नेपाल परियोजना सञ्चालन लागि कमलामाई नगरपालिका र हेफर इन्टरनेशनल नेपाल बिच, मिति २०७८ मंसिर ३ देखी २०८३ कार्तिक ३० गतेसम्मको पाँच बर्षको यो परियोजना हुने संझौता हाम्रै कार्यकालमा भएको थियो ।
यस सम्झौता अन्तर्गत १०१ वटा कोरेली बाच्छी र २० वटा उच्च गुणस्तरका साँढे गोरुहरु ल्याउने गरी भएको सम्झौता बमोजिम, दक्षिणकोरियाबाट आएका गाईहरु आज कृषकहरुले पाएको खबर सुन्दा अत्यन्तै खुशी लागेको छ ।

यस परियोजना अन्तर्गत हाम्रै कार्यकालमा ५० जना कृषक छनौट गरी गोठसमेत निर्माण भइसकेको थियो । कमलामाई नगरलाई दुधमा आत्मनिर्भर बनाउने कार्यमा सफलता हाँसिल गरिएको थियो । उच्च गुणस्तरको बिदेश निर्यात गर्न सकिने दूध उत्पादन गर्न यो सम्झौता भएको थियो ।
अब झनैं कमलामाई नगरपालिकामा दुध प्रशस्त हुने भएको छ । समय अभाबका कारण अधुरा छोडेका कामले पुर्णता पाउँदा खुसी लाग्ने रहेछ । म नगरप्रमुख हुँदा हामीले सुरुवात गरेका कामहरु, सिन्धुलीगढिमा कृष्ण बिक्रम थापाको सालिक अनावरण हुन बाँकी सायद हुन्छ होला, नगरपालिका अगाडि सिटि हल निर्माणाधीन रहेको छ । यस्ता कामको थालनी गरियो, हाम्रो कार्यकालमा कति गरियो ? गरिएन, नगरबासिले पक्कै पनि मुल्याङ्कन गर्नु भएको नंै होला ।
नगरमा उपस्थिती नहुँदा पनि, यी र यस्ता थालनी गरेका, प्रक्रियामा रहेका कामले पुर्णता पाएको खबर सुन्दा मात्र पनि आनन्द आइरहेको छ । यहि समाजको लागि केही गरौं भनेर नैं राजनितिमा लागियो । नगरबासीले आफ्नो अमूल्य मत दिएर नगर प्रमुख जस्तो गरिमामय पदमा पुर्याउनुभयो । त्यो बेलामा म बाट कहिं कसैलाई नगरको हितमा काम गर्दा ब्यक्तिगत वा समुह गत अप्यठेरो हुने किसिमका काम म बाट भएका भए पनि नगरपाकिकाको हितको लागि हो भनि बुझिदिन अनुरोध गर्दछु ।
बाहिरबाट ल्याइएका गाइहरुको हेरबिचार स्याहार सुसार र बेला बेलाम प्राबिधिकले अनुगमन गरेर यसलाई सफल परियोजना बनाएर अन्यत्रका कृषकले पनि यसको सिको गरेर अन्यत्र पनि यसलाई बढाउनु पर्छ ।
अन्त्यमा परियोजनालाई निरन्तरता प्रदान गर्नु हुने नगरप्रमुख, उपप्रमुख, नगर कार्यपालिकालगायत सबै सहयोगी हातहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।