माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त, भोली शपथग्रहण

प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ । आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गर्नुभएको हो ।

संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको थियो ।

यससँगै तेस्रोपटक प्रधानमन्त्री बन्नुभएको दाहालले भोली पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ भोली ४ बजे तय गरेको छ ।