मुलुकको अर्थतन्त्र खस्कँदै गएको छ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडु

  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन । उनले नेपाली जनताले अपेक्षा गरेको जस्तो देशको आर्थिक अवस्था स्वस्थ नभएको बताए । उनले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार गर्न मद्दत पु¥याउने विश्वास समेत व्यक्त गरे ।

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीको संयुक्त आयोजनामा सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री बडुले त्यस्तो बताएका हुन । उनले संसारको अर्थतन्त्रको असर नेपालमा पनि परेको बताए । ‘रुस र युक्रेनको युद्ध र कोभिडका कारण संसारभर र मुलुकको अर्थतन्त्र कमजोर बनेको छ । यसलाई उकास्न आवश्यक छ,’ उनले भने ।

मन्त्री बडुले मुलुकको अर्थतन्त्र उकास्न र स्वस्थ बनाउन आवश्यक रहेको र मेला महोत्सवमा गरिने स्थानीय उत्पादनको प्रवद्र्धनले आर्थिक अवस्था उकास्न टेवा पुराउने बताए । ‘उत्पादन, विश्व बजारीकरण, प्रदर्शन र व्यापारीकरणमा महोत्सवले सहयोग पुग्ने छ ।’ उनले भने ।
उत्पादनलाई विश्व बजारसम्म पुग्ने गरि बजारीकरण गर्न प्रविधिको प्रयोग गर्न आवश्यक रहेको समेत उनले बताए । उनले विश्व प्रतिस्पर्धामा जान उत्पादनलाई अनलाईन बजारीकरण आवश्यक रहेको बताए । ‘अनलाईन व्यापारमा पाइला चाल्न ढिला भईसक्यो, प्रविधिको प्रयोग चाँडो गर्नुस,’ उनले थपे ।

सरकारले ग्रामिण क्षेत्रदेखि उद्यमशिलताको स्थापना गर्ने लक्ष्य लिएको उनले बताए । ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने सरकारको लक्ष्य रहेको बताउँदै १०५ वटा स्थानीय तहमा घोषणा समेत भईसकेको उनले बताए ।

चालु आर्थिक वर्षमा २० वटा औद्योगिक ग्रामको स्थापना हुदै गरेको पनि उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय उत्पादन बढाउनमा र मुलुकमा रोजगारी सिर्जना गर्नमा औद्योगिक ग्राम स्थापनाले सहयोग पुग्ने छ । सरकार तथा नीजि क्षेत्रले चलाई रहेका औद्योगिक क्षेत्रहरु पनि पूर्ण क्षमतामा नचलेको उनको भनाई छ ।

मन्त्री वडुले नेपालीको भान्सामा पनि परनिर्भरतामा चलेको बताउँदै यो स्थितिमा सुधार हुन जरुरी रहेको बताए । ‘कृषि महत्वपूर्ण उत्पादन गर्ने क्षेत्र हो । कृषि, वन क्षेत्रका उद्योग बढाउन तर्फ लागौं । महंगो भए पनि स्थानीय उत्पादनलाई उपभोग बनाउने जोड दिउँ । मेड इन नेपाल, मेक इन नेपालमा सहकार्य गरौं ।’ उनले सबैलाई आह्वान समेत गरेका छन ।

कार्यक्रममा बोल्दै सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चण्डीराज ढकालले देशको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेका नीजि क्षेत्र र सरकार मिलेर निकास निकाल्नु आवश्यक रहेको बताए । उनले उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र संस्कृति पर्यटनको प्रवद्र्धन गर्न महोत्सव नतिजामुखी हुनुपर्नेमा जोड दिए ।

शुक्रबारदेखि सिन्धुलीको सिन्धुलीमाढीमा सुरु भएको छैंठौं सिन्धुली महोत्सव ११ दिनसम्म चल्ने छ । महोत्सवबाट हुने नाफाबाट दमकल खरिद गर्ने मुख्य उद्देश्य राखिएको सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताएका छन । उनले स्थानीय उत्पादनको बजारीकरण, धार्मिक तथा पर्यटनको विकास लगाएतका उद्देश्य राखी महोत्सवको आयोजना गरिएको उद्घाटनका अवसरमा बताए । महोत्सवमा १० करोडको कारोवार हुने आयोजकको दावी छ । उक्त कारोबारबाट सिन्धुली महोत्सवमा ९० लाख नाफा हुने आयोजकको अनुमान रहेको छ । महोत्सवको आम्दानीबाट अत्याधुनिक दमकल खरिद गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

महोत्सवको उद्घाटन कार्यक्रममा ¥याली, विभिन्न जातिय झाँकीहरु, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति समेत गरिएको थियो । ‘कृषि, उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौं, संमृद्धि र समुन्नती सिन्धुली निर्माणका लागि अघि बढौं’ भन्ने नाराका साथ थालिएको महोत्सवमा ७ लाख ७ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवमा स्थानीय उत्पादन, व्यापार, व्यवसाय, बाल उद्यान, सर्कस, पिङ, विभिन्न सांस्कृतिक कार्यक्रम, ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तथा विभिन्न प्रतियोगिताहरु समेत राखिएको छ । ३५० वटा स्टलहरु रहेको महोत्सवमा अपांग र जेष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिएको छ । विद्यार्थी तथा एकल महिलाका लागि २० रुपैंया प्रवेशमा छुट दिईएको छ ।

महोत्सवले जिल्लाको व्यापार व्यवसायलाई चलाएमान बनाउने, कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । महोत्सव स्थलमा सुरक्षा, पिउने पानी, विद्युत, शौचालय, सिसी क्यामेरा, एम्बुलेन्स तथा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिने छ भने फ्रि वाईफाईको समेत व्यवस्था गरिने छ ।