तत्कालिन नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका सभापति एवम् स्वर्गीय राजा विरेन्द्र बीरविक्रम शाहदेवले पत्याउने पुराना नेता कृष्णहरी बराल अहिलेको राजनैतिक गतिविधीबाट दिक्क हुनुहुन्छ ।
मंगलवार साँझ सन्देश जनप्रियसँग कुराकानीगर्दै बरालले देशमा बैदेशिक हस्तक्षेप बढेको र विदेशीकै इशारामा सरकार बन्न लागेकोमा चिन्ता व्यक्त देश र जनताप्रति जिम्मेवार नेताहरु नभेटिएको बताउनुभयो ।
पञ्चायतकालिन अबस्थामा भन्दा अहिले विकासले फड्को मारेको देखिएपनि ती सबै विकासमा विदेशीहरुको स्वार्थ रहेको र त्यही स्वार्थमा कुदेका नेताहरुको कारणले अहिले मुलुकमा विदेशी हस्तक्षेप बढिरहेको उहाँको बुझाई छ ।
अहिलेको राजनीति मैं लाउँ र मैं मात्रै खाउँ भन्ने उदेश्यबाट अगाडि बढिरहेको छ । पञ्चायतकालमा अहिलेको जस्तो अबस्था थिएन, सरकारसँग सबै डराउँथे, ठाउँको ठाउँ कारबाही हुन्थ्यो, जेल हालिन्थ्यो । तर अहिले त भ्रष्ट्राचारीहरु खुलेआम छाती खोलेर हिंडिरहेकाछन्, तीनै भ्रष्ट्राचारीहरु सांसद मन्त्री र पार्टीका नेता बनेको देख्दा मुलुक उन्नतीको दिशातर्फ कहिल्यै जाँदैन कि ? जस्तो लागिरहेको छ ।
हाम्रो देशका नेताहरु मात्रै होइन, व्युरोक्रेट्स र तपाई जस्ता पत्रकारहरु पनि विदेशीको लागि काम गरिरहेकाछन् । उनीहरुलाई आफ्नो देशको माटोप्रति अलिकति पनि मायाँ छैन, त्यसैले म ठोकुवाका साथ भन्छु: देश पुरै विदेशीको कव्जामा गइसकेको र त्यसबाट मुक्त गराउने क्षमता अहिले देखिएका युवा नेताहरु भन्नेसँग पनि छैन, उहाँको भनाई थियो ।
हुन त राजाको शासनमा पनि भ्रष्टाचार नभएका होइनन्, आँखा छलेर हुन्थे, पछि थाहा पाएपछि कारबाही भएका उदाहरण पनि छन् । २०४२ सालको वाढी पिडितलाई राहत वितरण गर्ने क्रममा रामेछापका जनतालाई स्टिलका भाँडाकुँडा दिइयो, तर सिन्धुलीका जनतालाई सिल्भरको । त्यसबेला सिन्धुली र रामेछापका लागि एउटै सामानहरु पठाइएको कुरा राजा विरेन्द्रले सन्देश पठाउनु भएको थियो तर पछि भनेजस्तो भाँडाकुँडा रहेनछ । त्यसबेला जसले खरिद गर्यो त्यसैले गडबड गरेको रहेछ । पछि उसलाई कारबाही भएको जानकारी पाएको थिएँ, उहाँले नि:सन्देह विगतको कुरा बताइरहनुभयो ।
जनकपुरमा अध्ययन गरिरहेका बेला तत्कालिन राजा विरेन्द्र वीरविक्रमबाट गाउँफर्क अभियानको सदस्य मनोनित भएपछि पढाई छोडेर सिन्धुली फर्कनुभएका बरालले त्यस बेला आफुमा भएको युवा जोस, जाँगर र उर्जा सिन्धुलीको सम्बृद्धि र विकासमा प्रयोग गर्न नसकेको अनुभूति भइरहेको बताउनुभयो ।
मैंले सिन्धुलीको विकासमा योगदान गर्न सक्छु भनेर सपना देखिरहेको थिएँ, तर टिकाजंग थापा, अम्मरदीप देवकोटा जस्ता स्वार्थी समूहकै कारणले काम हुन नसकेकोमा दु:ख लागिरहेको उहाँको भनाई थियो । उहाँले अगाडि भन्नुभयो: भद्रा घलेमा सिन्धुलीका जनताको विकास र सम्बृद्धिको स्वार्थ भन्दा अरु केही थिएन, तर उहाँलाई पनि ती स्वार्थी समूहले त्यसबेला अप्ठेरो पारेका थिए, त्यो कुरा पछि विरेन्द्र राजाले पनि थाहा पाउनुभयो ।
अहिले बेला बेलामा राजा आउ देश बचाउ भन्दै नारा लागेको सुन्छु तर अहिलेकै अबस्थामा राजा फर्कने र शासन सत्ता सञ्चालन गर्ने कुनै अबस्था मैंले देखेको छैन । राष्ट्रिय र अन्र्तराष्ट्रि परिस्थति राजाको पक्षमा छैन । राप्रपाले राजा स्थापित गर्ने राम्रो एजेण्डा त उठाएकाछन् तर त्यो स्थापित हुने कुनै संभावनानैं देख्दिनँ, बरालले अगाडि भन्नुभयो । सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ लेखेको छ ।










