कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेता छान्न बन्यो निर्वाचन समिति

नेपाली कांग्रेस बागमती प्रदेशसभाको संसदीय दल नेता छान्न निर्वाचन हुने भएको छ । कांग्रेस बागमती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि प्रक्रिया सुरु गर्ने निर्णय गरेको प्रवक्ता तिलक रुवालीले जानकारी दिए । बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति समेत गठन गरेको छ । बागमती प्रदेश समितिका उपसभापति समेत रहेका चन्द्र महर्जनको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा महामन्त्री राजु श्रेष्ठ, सहमहामन्त्री ऋषिराम घिमिरे, सिन्धुलीकी महिला नेतृ गंगा दाहाल र सदस्य सानु श्रेष्ठ रहेका छन् । उक्त समितिले सभापति शेरबहादुर देउवासँगको समन्वयमा संसदीय दलको नेता चयनका लागि निर्वाचन गराउने रुवालीले बताए ।

कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा दुई जनाको दावी रहेको छ । दलको नेता बन्न कांग्रेसको संस्थापन पक्षका २ सांसद प्रयासरत रहेका छन् । जसमा इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा रहेका छन् । बानियाँले यसअघि २०७४ मा कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाइसकेका छन् ।