प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ । चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।
शनिबार नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनमा सत्ता गठबन्धनबाहिर पनि विकल्प खोज्न सकिने सन्देश प्रवाह गर्यो । गठबन्धनबाट माओवादी केन्द्रले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने र त्यो हुन नसकेको खण्डमा एमालेलगायतका दलसँग सहकार्य गर्न सकिने पनि माओवादीको सन्देश थियो ।
पार्टीको शनिबारको पदाधिकारी बैठकबाट त्यो सन्देश प्रवाह भएको २४ घण्टा बित्न नपाउँदै माओवादी केन्द्र यूटर्न भएको छ । पार्टीको आइतबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन नटुट्ने स्पष्ट गरेका छन् ।
उनले सत्ता गठबन्धनका चार दल र लोसपासहित मिलेर चुनाव लगिएको स्मरण गर्दै गठबन्धन र तालमेलको भावनाअनुसार नै नयाँ सरकार बन्ने बताएको एक नेताले जानकारी दिए ।











