जिल्ला निर्वाचन कार्यालय सिन्धुली भन्छ: आचारसंहिता उलंघनमा गठबन्धन दल अगाडि

मरिण गाउँपालिका वडा नं. ४ स्थित खयरसाल माध्यमिक विद्यालयका निमावि राहत दरबन्दीका शिक्षक रुद्रप्रसाद देवकोटाले मिति २०७९ कार्तिक २४ गते माओवादी केन्द्रका प्रतिनिधीसभा सदस्य क्षेत्र नं. २ का उमेदवार राजन दाहाल र प्रदेशसभा सदस्य २ (२) का उमेदवार गंगानारायण श्रेष्ठलाई माला र अविर लगाई दिएकाछन् । फोटो: फेसवुक

सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।
जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका उजुरीहरुको संख्या निकै बढ्न थालेको हो ।
अनुगमन समितिका संयोजक हिरालाल भण्डारीका अनुसार कार्यालयमा प्राप्त लिखित उजुरीहरु मध्ये सबैभन्दा बढी जनप्रतिनिधीहरुले सरकारी साधन स्रोत प्रयोग गरेर गठबन्धन दलका उमेदवारको निर्वाचन प्रचार प्रसारमा लागेको फोटोसहितका उजुरीहरु रहेका छन् ।
दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारी दनुवार, तीनपाटन गाउँपालिका अध्यक्ष कर्णवहादुर थापा मगर, मरिण गाउँपालिका अध्यक्ष प्रख्यात मुक्तान, र विभिन्न पालिकाका वडाध्यक्षहरु दलको निर्वाचन कार्यक्रममा सामावेश भएको फोटोसहितका उजुरी जिल्ला निर्वाचन अनुगमन समितिमा आइपुगेको उहाँको भनाई छ ।
यसका निर्वाचन आचारसंहिताले रोक लगाएको तोरण, झण्डा, फ्लेक्स तथा माइकिङ गरेको जस्ता विषयहरु पनि उजुरीका रुपमा आएका छन् । आयोगमा प्राप्त उजुरीका आधारमा हरिहरपुरगढी, दुधौली, मरिण तथा कमलामाई नगरपालिकाको सिलामेमा टाँगिएको तोरण तथा फ्लेक्सहरु हटाइएको छ ।
भण्डारीका अनुसार जिल्ला निर्वाचन कार्यालयले पालिका प्रमुखसहितलाई स्पष्टिकरण सोधिएकोमा दुधौली नगरपालिकाको प्रमुखले मात्रै जवाफ दिन बाँकी रहेको छ ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालयले सामाजिक सञ्जाल फेसवुकमा मत पोलिङको अफवाह फैलाउने शिक्षक कविन्द्र गौतमलगायतलाई पनि स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित आफ्नो पदीय मर्यादा भुलेर सामाजिक सञ्जालमा राजनैतिक दलका उमेदवारको पक्षमा प्रचार प्रसार गर्नेहरुको निगरानी गरिरहेको बताउँदै अनुगमन समिति संयोजक भण्डारीले सदरमुकाम बाहिर भएका आचारसंहिता उलंघनका घटनालाई निरुत्साहित बनाउने काम थालिएको उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो: जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा आएको आचारसंहिता उलंघन सम्बन्धी उजुरीहरुमा सबैभन्दा बढी गठबन्धन दलसँग सम्बन्धित रहेकाछन् । लिखित, मौखिक र इमलेमार्फत आएका उजुरीहरु मध्ये गठबन्धन दल आचारसंहिता उलंघनमा अगाडि रहेको देखिएको छ ।
हामीले राजनैतिक दलकन नेता र स्थानीय जनप्रतिनिधीहरुलाई आचारसंहिता उलंघन रोक्न पटक पटक मौखिम सुझाव पनि दिएका थियौं, तर त्यो क्रम रोकिएन, भण्डारीले भन्नुभयो । निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना भएको हामी देख्न चाहान्छौं, उहाँको भनाई थियो । यो समाचार सिन्धुली सौगातले प्रमुखताका साथ लेखेको छ ।