धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित आफ्नाे निवासमा छन्।
गृहजिल्ला डडेल्धुरामा चुनावी सभाहरूमा सहभागी भएर प्रधानमन्त्री देउवा आइतबार धनगढी आइपुगेका हुन्।
शुक्रबार धनगढी पुगेदेखि नै प्रधानमन्त्री देउवा कार्यकर्ता भेटघाटमा व्यस्त छन्। देउवाले निजी निवासमा असन्तुष्टहरूलाई बोलाएर भेटघाट र छलफल गरिरहेका छन्।
उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई निवासमै बोलाएर उनले छलफल गरिरहेका कैलाली कांग्रेसका सचिव नृप सुनारले जानकारी दिए।
त्यससँगै प्रधानमन्त्री देउवाले नेता तथा कार्यकर्तासँग चुनावी अवस्थाका विषयमा जानकारीसमेत लिइरहेका छन्।
धनगढी उपमहानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ मा कांग्रेसबाट डिल्लीराज पन्त र ५ को प्रदेश सभा (ख) बाट सदस्यमा प्रधानमन्त्री देउवाका भतिजा प्रकाश देउवा उम्मेदवार छन्।
क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार २३ गते दार्चुलामा हुने चुनावी सभालाई सम्बाेधन गरेर मात्र प्रधानमन्त्री काठमाडाैँ फर्कनेछन्।











