महेन्द्रनगर/महाकाली नदीको नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य आम्दानीको स्रोत हो । पछिल्लोपटक गत आर्थिक २०७८/७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट नगरपालिकामा नगर प्रमुख (मेयर) हुँदा सबै प्रक्रिया पुर्याएर ठेक्का सम्झौता गरी आन्तरिक आय गराएका थिए । तर पछिल्लो स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटी नगर प्रमुख (मेयर) निर्वाचित भएपछि नगरपालिकामा बेथिति मौलाएको छ ।
मेयर बोगटीले नेतृत्व सम्हालेपछि जिम्मेवारीबहन गर्न नसक्दा आन्तरिक आय गुम्ने अवस्था देखिएको छ । नदीजन्य पदार्थ संकलन र उत्खनन्का लागि स्थानीय तहले वातावरणीय प्रभाव मूल्यांकन (ईआईई) वा प्रारम्भिक वातावरणीय मूल्यांकन (आईईई) गर्नुपर्छ । निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकालमा भएको मूल्यांकनको अवधि गत भदौमा सकिएपछि मेयर बोगटीले काम नगर्दा नदीजन्य पदार्थ संकलन प्रक्रिया संकटमा परेको छ ।
नगरपालिकाले ईआईई र आईईई नगर्दा ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन । ईआईई र आईईई नगर्दासम्म नदीजन्य पदार्थ संकलनका लागि नदी क्षेत्रमा प्रवेश गर्नु अवैध मानिन्छ तर नगरपालिकाको नयाँ नेतृत्वको अकर्मण्यतासँगै अवैध रूपमा उत्खनन्को काम समेत अगाडि बढेको छ ।
महाकाली नदीको ईआईई र आईईई नै नगरी नगरपालिकाका कर्मचारी नै रोयल्टी संकलन गरिरहेका छन् । नदीजन्य पदार्थ संकलनलाई वैज्ञानिक र व्यवस्थित गर्न मूल्यांकन नगरी हुँदैन । कुन क्षेत्रबाट कति घनमिटर नदीजन्य पदार्थ संकलन गर्ने र वातावरणमा प्रभाव पर्न नदिन के–के गर्ने भन्ने विषय ईआईई र आईईईमा समावेश भएको हुन्छ । ईआईई र आईईई विना नै नदीजन्य पदार्थ संकलन गर्दा बाढी, डुबान, कटान र भूक्षयको खतरा हुन्छ ।
महाकाली नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन भइरहेकोबारे मेयर बोगटी बेखबर छन् । टेलिफोनबाट उनीसामु जिज्ञासा राख्दा उनले भने, ‘मलाई जानकारी छैन । महेन्द्र खड्कालाई फोन गर्नुस्, उहाँ प्रवक्ता हो ।’
प्रवक्ता महेन्द्र खड्काले ईआईई गर्ने काम प्रक्रियामा रहेको र कर्मचारीमार्फत रोयल्टी उठाइरहेको जानकारी दिए । ‘ईआईई गर्न अलि ढिलो भयो,’ उनले भने । कर्मचारीमार्फत रोयल्टी उठाउने निर्णय नगर कार्यपालिका बैठकबाट भए/नभएकोबारे उनले स्पष्ट जानकारी दिन सकेनन् । कार्यपालिका बैठकमा उनी समेत सदस्य हुन्छन् । उनले भने, ‘मलाई थाहा भएन । म फिल्डमा छु ।’
नगरको नयाँ नेतृत्वले समयमै ईआईई र रोयल्टी संकलनको ठेक्का सम्झौता गर्न नसक्दा नगरपालिकाको आन्तरिक आयमा धक्का लाग्ने भएको छ । यसअघि एमालेका विष्ट मेयर हुँदा महाकाली नदीबाट प्राप्त हुने रोयल्टीबाट वार्षिक ४८ लाख रुपैयाँ दोधाराचाँदनी नगरपालिकालाई समेत दिने सम्झौता गरेका थिए । तर भीमदत्तमा कांग्रेसले चुनाव जितेपछि दोधाराचाँदनीले रोयल्टीबापतको हिस्सा पाउन सकेको छैन । भीमदत्तमा नयाँ नेतृत्व आएपछि दोधाराचाँदनी नगरपालिकालाई धोका भएको छ ।
भीमदत्तको नयाँ नेतृत्वले व्यवस्थित र प्रक्रियासम्मत रूपमा रोयल्टी संकलन गर्न नसक्दा आन्तरिक आयमा धक्का लाग्ने र त्यसले विकास–निर्माण कार्य प्रभावित हुने भएको छ । नगरपालिकाको कोषमा रकम घट्दै जाँदा विकास–निर्माणमा रकम अपुग हुने र नगरवासी विकास–निर्माणको सुविधाबाट वञ्चित हुने देखिएको छ । भीमदत्तको नेतृत्वको अकर्मण्यताका कारण दोधाराचाँदनीलाई समेत घाटा लागेर विकास प्रभावित हुने भएको छ ।










