जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।
नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस क्षेत्रको विकासका अधुरा कामलाई पुरा गर्न आफू उम्मेदवार भएको बताउनुभयो ।
सिन्धुली–चकमके–ठाकुर दमार–कटारी सडक एमालेको सरकार भएका वेला आफ्नो पहलमा योजना पार्न सफल भएको बताउँदै उहाँले सिन्धुली–चकमके सडक खण्डको डिपिआर भई ठेक्का लागि सकेको बताउनुभयो । अव चकमके–ठाकुर दमार–कटारी सडक निर्माणलाई पूर्णता दिन र यहाँका जनताको उज्वल भविश्यका लागि उम्मेदवार भएर आएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो “हिजो यस सडक विस्तार गर्नु पर्छ, जनताले दु:ख पाए भनेर सडक विस्तार गर्न ताकेता गर्दा मलाई जनताको लागि विकास गरेको नाममा मुद्दा हाल्न तम्सनेहरू आज मसँग प्रतिस्पर्धा गर्न खोज्दै छन् ।” म यही भूगोलमा जनतालाई विकासका पुर्वाधारहरुको पहुँचमा ल्याउनु पर्दछ भनेर सङ्घर्ष गर्दै आएको छु र भोलिका दिनमा पनि यही भूगोलका जनताको सेवक बनेर अघि बढ्दैछु उहाँले भन्नुभयो ।
नेकपा एमाले जनताको दु:ख सुखको पार्टी भएको र सधैँ जनताको माझमा रहने बताउनुभयो । विकासको एउटा सिन्को पनि नभाच्ने, चुनावका मुखमा गाउँमा आएर सबै मैले गरेको भनी झुटको खेती गर्नेहरूसँग मतदाता सजग रहनु पर्ने उहाँको सुझाव छ । एमाले निर्वाचनमा सधैँ स्वस्थ प्रतिस्पर्धा गर्न चाहान्छु, जनतालाई झुकाएर कुनै अवसर लिन हैन जनतालाई अवसर सिर्जना गर्न, जनतालाई सुखी बनाउन निरन्तर लागि परेको बताउनुभयो ।
हिजो पनि जनताको माझमा काम गरेको थिए, आज पनि जनताको माझमा नै छु र भोलिका दिनमा पनि जनताको माझमा नै रहेर जनताको सेवक बनेर काम गर्नेछु उहाँले भन्नुभयो “यस क्षेत्रका जनताको शिर झुक्न दिने छैन, रोकिएका र अधुरा योजनालाई पूर्णता दिई जनताको मागका आधारमा योजना ल्याउन आफू सदैव प्रतिबद्ध रहेको छु त्यसैले मङ्सिर ४ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि विजयी गराउन सबै मतदातामा आग्रह गर्दछु ।”










