प्रधानमन्त्री तथा कांगेस सभापति शेरबहादुर देउवाले भाषण गर्दैमा नेपाली भूमि फिर्ता नहुने बताए। उनले केपी ओलीले दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नआउने बताएका हुन्। शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकास्थित चुनावीसभालाई सम्बोधन गर्दै देउवाले भने, ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ, कि लड्नुपर्याे बन्दुक ल्याउनुहोला। होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषणमा त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिन सक्छौँ।’
यसैगरी उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने बताए। उनले आफू पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको पनि बताए।
डडेल्धुरासँगै समग्र सुदूरपश्चिमको विकासका लागि आफू लागिरहेको बताउँदै प्रधानमन्त्री देउवाले वोल्नु भन्दा पनि काम गरेर देखाउनुपर्ने बताए। प्रधानमन्त्री देउवा बिहिवार देखि जिल्लाका विभिन्न ठाउँमा भईरहेका चुनावी सभालाई सम्बोधन गर्न डडेल्धुरा रहेका छन्।
एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुलबाट चुनावी अभियानको थाली गर्दै चुनावपछि आफ्नो नेतृत्वमा बन्ने सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउने बताएका थिए।
ओलीले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा पनि सुदुरपश्चिमका लागि केही गर्न नसकेको आरोप लगाउँदै यो भेगकै विकासको जिम्मा आफूले लिने बताएका थिए।











