एमालेले चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलाबाट पहिलो चुनावी अभियान सुरु गर्दै

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने कार्यक्रम तय भएको हो । नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले अध्यक्ष ओली कात्तिक १८ गते दार्चुला आउने तय भएको जानकारी दिनुभयो ।

‘आसन्न चुनावलाई लक्षित गरेर राष्ट्रव्यापी आमसभा सुदूरपश्चिमबाट उद्घाटन गर्ने तय भएको छ,’सचिव धर्मराज पाठकले भन्नुभयो, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने छ ।’ दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन अध्यक्ष ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सचिव पाठकका अनुसार सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने छ ।भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको चुच्चे नक्सा जारी गरिएकोले दार्चुलाबाट चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्ने निर्णमा एमाले पुगेको हो ।

ओली नेतृत्वको सरकारले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी गरेको थियो । सोही नक्सा जारी भएपछि तात्कालिन नेकपाका दोस्रो अध्यक्ष तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमन भयो भन्दै नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाको शरणमा पुग्नुभएको हो । चुच्चे नक्सा जारी गरेबापत ओली सरकार हटाइएको तथ्य स्थापित भइसकेको अवस्थामा देशभरका जनतालाई सो तथ्य फेरि एकपटक राख्न एमालेले दार्चुलाबाट अभियान अघि बढाउन लागेको हो ।