नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले भोली बिहिवार आयोजना गरेको कार्यक्रम केही समय अगाडि स्थगन भएको छ । माओवादी भित्रको किचलो बढ्दै गएपछि सो कार्यक्रम स्थगन गरिएको माओवादीका एक केन्द्रीय नेताले जानकारी दिएकाछन् । उनका अनुसार भोलीको कार्यक्रममा उपमहासचिव एवम् सिन्धुलीका लोकप्रिय नेता हरिवोल गजुरेल सहभागी नहुने भएपछि अध्यक्ष प्रचण्डकै निर्देशनमा सो कार्यक्रम स्थगन भएको थाहा लागेको छ ।
समाचार स्रोतले प्रचण्ड, बाबुराम र नारायणकाजीलाई सिन्धुलीमा ल्याएर कमजोर बनेको माओवादी नेता कार्यकर्ताको आत्मबल बलियो बनाउने प्रयास नेतृत्वले गरेपनि उपमहासचिव गजुरेल कार्यक्रममा सहभागि नहुने टुंगो लागेपछि त्यसको सन्देश गलत जाने र पार्टीका उमेदवार कमजोर बन्ने निश्कर्षसहित सिताराम पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रम स्थगन गरिएको हो ।
एमाओवादी सिन्धुलीका एक नेताका अनुसार कार्यक्रम स्थगन हुनुमा हरिवोल फ्याक्टरले बढी काम गरेको बताइन्छ । अध्यक्ष प्रचण्ड पत्नी सिताको स्वास्थ्यमा गंभीर समस्या देखिएको कारणले बैठक स्थगन गर्न भनिएको हो । सिन्धुली माओवादीमा अहिले नेता हरिवोललाई कारबाही गर्नुपर्छ भन्दै आवाज उठान थालिएको छ, त्यो आवाज अत्यन्त झिनो रहेको देखिएको छ ।
२०७० सालमा एकल र २०७४ सालमा वाम गठबन्धनबाट निर्वाचन जितेका, पार्टीका पुराना नेता तथा उपमहासचिवको हैसियतमा रहेका नेता हरिबोल गजुरेल, जसलाई पार्टीमा प्रचण्डका वफादार भनेर चिनिइन्थ्यो, तिनलाई किन यसरी अपमानपूर्ण ढंगले प्रचण्डले टिकटमा लात हाने र जिल्लामा उनलाई जमिनबाट सिध्याउनका लागि बाबुराम र नारायणकाजीलाई समेत लिएर सिन्धुली आउँने कार्यक्रम तय भएको थियो ।
समाचार स्रोत अगाडि भन्छ: नेता गजुरेलले उम्मेदवारी छनोटको मापदण्ड र आफुले टिकट नपाउने चित्तबुझ्दो जवाफ नपाएसम्म र सचिवालयको बैठकमा छलफल नभएसम्म कुनै पनि निर्वाचन केन्द्रित कार्यक्रममा सहभागी नहुने अडान लिनुभएपछि प्रचण्डका लागि टाउको दुखाईको विषय बनेको छ । अव अध्यक्ष प्रचण्ड गजुरेललाई नलिई सिन्धुलीमा कार्यक्रम गर्न आउँछन् वा उनीमाथि कारबाहीको डण्डा वर्षाउँछन् त्यो भने हेर्न बाँकी छ ।
गंगानारायण श्रेष्ठलाई सिन्धुलीको मरिण र बाबुराम पुत्री मानुषीलाई काठमाडौमा टिकट दिलाएर गोरखामा आफ्नो सिट सुरक्षित गरेका अध्यक्ष प्रचण्डकै कारण जनयुद्धका सहयात्री लोकप्रिय युवा नेता प्रकाश श्रेष्ठ र नेता गजुरेल उमेदवार बन्न नपाएको तथ्य प्रष्टै देखिएको छ । एक माओवादी नेताका अनुसार डा. बाबुराम र प्रचण्डका बीचमा गोरखा जिल्लाको निर्वाचन क्षेत्र छोडेपछि बाग्मती प्रदेशमा कांग्रेसका इन्द्र बानियाँ र गंगानारायणलाई आधा आधा मुख्यमन्त्री बनाउनेसम्मको जेन्टलमेन्ट सहमति बनेको थियो । सोही सहमति अनुसार गंगानारायण प्रकाश श्रेष्ठलाई पाखा लगाउन आइपुगेका हुन् । स्मरणीय छ: प्रकाश श्रेष्ठ अधिल्ला निर्वाचनहरुमा पनि त्यसैगरी पाखा लागिरहेका छन् । भनिन्छ, श्रेष्ठको लागि अब आउने निर्वाचन पनि सहज हुने देखिंदैन ।