एमालेका प्रतिनिधीसभा सदस्य उमेदवार मनोजंग थापाले भन्नुभयो- ‘माननीय भनिन हैन, जनताको सेवा गर्न आएको हुँ’

नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका उम्मेदवार मनोजजंग थापाले आफू नामको अगाडि माननीय थप्न निर्वाचनमा सहभागि नभएको बताउनु भएको छ । क.न.पा. २ भद्रकालीको गणेशमन्दीरमा आयोजित वडा नंं २ को वडा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी कार्यकर्ताहरुसँग थापाले आफूलाई माननीय नभन्न अनुरोध गर्नुभयो ।

विगतका माननीयहरुले जनतालाई विभिन्न आश्वासन दिएर झुक्याएको बताउदै उम्मेदबार थापाले अब नझुक्किन र नेतालाई पनि जनता नझुक्याउन आग्रह गर्नुभयो । जनतालाई पूरा गर्न सक्ने मात्रै सपना देखाउनु पर्ने र बोलेका कुरा पूरा गरेर मात्रै अर्को निर्वाचनमा आउनु पर्ने बताउनु भयो ।

आफ्नो गाउँ ठाउँको विकास हुने अपेक्षा गर्दै गणतन्त्र पछि जनताले तीन पटक भोट हालेर सांसद जिताएपनि सांसदहरु मन्त्री र मन्त्री भन्दा माथिल्लो ओहोदामा पुग्दा समेत जिल्लाको मुहार फेर्न नसकेकाले आफ्नो जिल्लामा केहि गर्नुपर्छ भन्ने उद्देश्य सहित चुनाव जितेर जनताको प्रतिनिधि बन्दै सेवा गर्न आफु जनताको घर दैलोमा आएको बताउनु भयो ।

पञ्चायत, बहुदल, गणतन्त्र कुनैपनि शासन व्यवस्थामा सिन्धुली जिल्लाले राज्यको महत्वपूर्ण राजनीतिक पकड जमाउन नसकेको र सकेका केहि प्रयास पनि सदुपयोग हुन नसक्दा जिल्लाले विकासको क्षेत्रमा अग्रगामी फड्कोमार्न नसकेकाले आफूले हासिल गरेको ज्ञान सिप र पहुँचलाई कार्यान्वय गरेर जिल्लाको विकासमा योगदान पु¥याउने अबको लक्ष्य भएको बताउनु भयो ।

सि.पि. गजुरेल, हरिबोल गजुरेल, मोहन बरालहरु विगतमा यस क्षेत्रको सांसद बनेर मन्त्री र संसदीय समितिको सभापति तथा पार्टीको पहुँचवाला पदमा पुग्दा समेत सामान्य सांसदले गर्ने जति पनि काम गर्न नसकेको भन्दै थापाले आफू नेकपा एमालेको बुद्धिजिवि परिषद्को इन्चार्ज भएर हासिल गरेको सम्बन्ध, पार्टीको माथिल्लो निकायमा रहेको पहुच, राज्यका विभिन्न निकायमा रहेको सम्बन्ध मात्र नभएर आफूले लामो समय परराष्ट्र र सुरक्षा मामिलामा हासिल गरेको ज्ञान सबैको पहुचले अब सिन्धुली जिल्लामा परिवर्तनकारी विकास निर्माणको योजनाहरु ल्याउने चाहाना सहित चुनावि मैदानमा होमिएको बताउनु भयो ।

नेता थापाले औषतमा एउटा वडामा बार्षिक ५ करोड बजेट खर्च गर्ने हो भने जनताले मागेका विकास निर्माणका कार्यहरु पूरा गर्न सकिने देखिएको र हाल औषतमा दुई करोडको हाराहारीमा बजेट विनियोजन भईरहेको देखिएकाले स्थानीय तहमा बजेट पठाउन सुरु गर्ने, वित्तिय संघियता लागु गर्दै स्थानीय तहमा अर्बौ रकम पठाउने नेकपा एमाले भएकाले अब वडामा ५ करोड बजेटको व्यवस्थापन गर्न पनि संघिय संरकारमा फेरिपनि एमाले पुग्नु पर्ने र त्यसका लागि मंसिर ४ मा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदबारहरुलाई जिताउनु पर्ने बताउनु भयो ।

उहाँले विगतमा विद्यालयहरु खुलेका, विल्डीङ्हरु बनेका भएपनि गुणस्तरीय शिक्षा भने प्राप्त हुन नसकेकाले अब पढेका विद्यार्थीले रोजगारी पाउने, डिग्रि गरेर म्यादि प्रहरीमा भर्ना नहुने किसिमको शिक्षा दिनु पर्ने र त्यसका लागि एमालेको सरकारले मात्रै प्रष्ट निति र योजना ल्याउने बताउनु भयो । अध्ययनको हिसावले इन्जीनियर समेत रहनु भएका उम्मेदबार थापाले भौतिक संरचना, सडक सञ्जाल र अन्य भौतिक पूर्वाधारको विकास भविष्य हेरेर दिर्घकालिन ढंगले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्षेत्र नं. २ को १ का प्रदेश सांसदका उम्मेदबार विनोद खड्काले आफू विगत पाँच वर्ष प्रदेश सांसदको भूमिकामा रहदा क.न.पा. २ को भद्रकालि एउटा वडामा मात्रै ४० करोड भन्दा बढि बजेट विनियोज गराएर विभिन्न विकास निर्माणका कार्यहरु सम्पन्न भएका र कतिपय कार्यान्वयनको चरणमा रहेको भन्दै सबै योजनाको नाम र बजेट पढेर सुनाउनु भएको थियो ।

वि.पि. राजमार्गको पिपलभञ्ज्याङ देखि हायूटार जाने सडक आफ्नो पहलमा प्रदेश सरकारको बजेटले कालोपत्रे गर्ने कार्य सम्पन्न भएको भन्दै यहि सडक आफ्नो निर्वाचन क्षेत्र कटेपछि अर्को क्षेत्रका प्रदेश सांसदले पहल गरेर कालोपत्रे बनाउन नसकेको भन्दै काम गर्ने पार्टी र व्यक्ति चिन्ह भद्रकालिका जनतालाई आग्रह गर्नुभयो । विगतका पाँच वर्षमा धेरै काम भएको र अब थप काम गर्न आफू उम्मेदबार बनेकाले यि भन्दा ठूला योजना वडामा ल्याउन आफूलाई पुन मतदान गर्न आग्रह गर्नुभयो ।

कमलामाई नगरपालिका पूर्व मेयर खड्ग बहादुर खत्रीले एमालेले नेतृत्व गरेको स्थानमा मात्रै विकास हुने गरेको जिल्लाकै उदाहरणले देखाएको भन्दै ९ वटै स्थानीय तहमा कसले कति काम ग¥यो भनेर तुलना गर्ने हो भने एमालेले नेतृत्व गरेको स्थानीय तह, संघ र प्रदेशका क्षेत्रहरुमा एमाले अब्बल देखिने बताउनु भयो । उहाँले आफूले नेतृत्व गरेको कमलामाई नगरपालिकामा पर्ने ऐतिहासिक सिन्धुलीगढी विगत ५ वर्षमा पुननिर्माण भएर बार्षिक लाखौ रुपैया आम्दानी गर्ने ठाउँमा पुगेको तर हरिहरपुरगढीमा पनि सिन्धुलीगढी जस्तै पुननिर्माणको अवसर भएपनि त्यहा कुनै काम हुन नसकेको भन्दै काम गर्ने र नगर्ने दल चिन्न आग्रह गर्नुभयो ।