एमालेमा आम निर्वाचनको उम्मेदवार छान्ने जिम्मा ओलीलाई

नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार राति अबेरसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।

बैठकमा सिफारिस भएर आएका नेताहरूबारे व्यक्तिगत रूपमै छलफल भएको थियो। ६ घण्टाभन्दा बढी समय चलेको बैठकले उम्मेदवारबारे ठोस निर्णय भने गरेन। थप छलफल गरेर उम्मेदवार टुंग्याइने बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।

अन्य दलसँग तालमेलको कुरा टुंगिन बाँकी रहेकाले पनि थप छलफल गरेर मात्रै उम्मेदवारबारे निर्णय लिन नेताहरू सहमत भएका छन्। एमालेको जिल्ला र प्रदेशबाट ५६ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको उम्मेदवारमा एकल सिफारिस भएको छ।

बाँकी निर्वाचन क्षेत्रमा एक भन्दा बढी आकांक्षीको नाम सिफारिस भएर आएको छ। तर दशैँलगत्तै प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने भएकाले अर्को बैठक बस्नेबारे भने निश्चित छैन। बैठकमा प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० निर्वाचन क्षेत्रकै बारेमा छलफल भएको थियो।