सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका जिल्ला तहका शिर्ष नेताहरु बीचको आन्तरिक किचलो सार्वजनिक भएपछि पार्टी केन्द्रमा देखिएको बिवाद सतहमा आइपुगेको छ ।
पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले सामाुपातिक तर्फको बन्दसुची निर्वाचन आयोगमा बुझाउने क्रममा आफ्ना पक्षकालाई मात्रै समावेश गरेपछि कांग्रेस नेता डा. शेखर कोइराला समूहले तत्कालै गल्ती नसच्याए प्रत्यक्ष तर्फ माओवादी र अन्य दलले उठाएका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिने घोषणा गरेपछि चर्किएको कांग्रेस केन्द्रको बिवाद जिल्ला तहसम्म आइपुगेको देखिएको हो ।
सिन्धुली कांग्रेसले क्षेत्र नम्बर १ का लागि सिफारिश गरेका लोकप्रिय नेता उज्वलप्रसाद बराल, पूर्व सांसद मोहनप्रसाद बराल, कृष्णमुरारी गुरुङ, चर्चित कानून व्यवसायी एवम् अघिल्लो संसदीय निर्वाचनमा पराजित उम्मेदवार प्रेमचन्द्र दाहाल र स्थानीय नेता प्रेमप्रसाद भट्टराई र केन्द्रीय सदस्य श्याम घिमिरे बीचको आन्तरिक किचलोले सामाजिक सञ्जाल रंगिएको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् केन्द्रीय सदस्य श्याम घिमिरेलाई प्रधानमन्त्री देउवाले क्षेत्र नं. १ बाट उम्मेदवार बनाउने करिव करिब पक्का भएपछि बराल, गुरुङ, दाहाल र भट्टराईको मोर्चाबन्दी भएको छ । काठमाडौमा लामोसमय टिकट हात पार्न दौडधुपमा लागेका नेताहरुले एकै ठाउँमा बसेर घिमिरेलाई पार्टीको तर्फबाट उम्मेदवार नबनाउन र बनाए पार्टीले पराजय भोग्नेसम्मको चेतावनीसहितको संयुक्त हस्ताक्षरित पत्र पार्टी सभापति देउवालाई बुझाएको बिबरणहरु बाहिर आएपछि पार्टी केन्द्रबाट सल्केको आगो सिन्धुलीमा आइपुग्दा दन्केको हो ।
संघको उम्मेदवारका रुपमा शिफारिशमा परेका पाँच जना हस्तीहरुले केन्द्रिय सदस्य घिमिरेलाई टिकट दिए जिताउन नसकिने भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको थिए । पाँच महासमिति सदस्यद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ: ‘घिमिरे नेपाली कांग्रेस पार्टी पंक्ति र जनाधारमा अत्यन्तै अलोकप्रिय र कमजोर’ भएको पत्रमा जिकिर गरिएको छ ।
पत्रमा अगाडि लेखिएको छ: महोत्तरीबाट उम्मेदवार बन्न आएका घिमिरेको जग अत्यन्त कमजोर र स्थानीय नेता कार्यकर्ताहरुले स्वीकार गर्न नसक्ने अबस्था रहेकाले पार्टी र संगठन जोगाउन उनी बाहके जो कोहीलाई उम्मेदवार बनाउन ध्यानाकर्षण गराउँदछौं ।
सिन्धुलीमा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा संघ तथा प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफँडका विषयमा सैद्धान्तिक सहमति भइसकेको भएपनि लिखित संझौता भने भएको छैन । हामी बीचमा सिट बाँडफँडको विषयमा सहमति भइसकेको छ, एमाओवादीका पोलिटव्यूरो सदस्य राजन दाहालले भने ।
स्रोतका अनुसार क्षेत्र नम्बर १ नेपाली कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ माओवादी केन्द्रको मागमा परेको छ । आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेशसभाको निर्वाचनलागि सिफारिसमा परेका उम्मेदवारले टिकट पाउनका लागि पार्टी अध्यक्षको ढोका चाहारिरहेका छन् ।
नेपाली कांग्रेस भित्रका यो आन्तरिक किचलोले आउँदो संघ तथा प्रदेशसभा निर्वाचनमा एमाले लगायतका दललाई फाइदा पुग्ने अनुमान गर्न थालिएको छ । पार्टीभित्र जनधार भएका नेतालाई भन्दा आफ्नो नजिकका र स्रोत साधन भएकालाई नेपाली कांग्रेसले उम्मेदवार बनाउने भएपछि लामो समय पार्टी र संगठन भन्दै जीवन बिताएका नेता कार्यकर्ताहरु निराश मात्रै भएका छैनन्, पार्टीनैं छोड्ने अबस्थामा पुग्न सक्छन्, कांग्रेस सिन्धुलीका एक युवा नेताले सन्देशजनप्रियसँग भने ।
नेपाली कांग्रेस भित्रको किचलोकै कारणले गएको वैशाख ३० गते दुधौली नगरपालिका २ भलुवाहीमा केन्द्रिय सदस्य घिमिरेलाई पार्टीकै कार्यकर्ताले कालोमोसो दलेका थिए । घिमिरेलाई अलोकप्रिय देखाउन कार्यकर्ता उकासेर सो कार्य गरिएको अनुमान गरिएको छ । यद्यपी यस घटनालाई कांग्रेसले छोपछाप पारेर लुकाएको थियो ।
साथीहरुले गल्ती गरे: श्याम घिमिरे
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पार्टीको आन्तरिक विषयलाई सामाजिक सञ्जाल मार्फत छताछुल्ल गर्न नहुने बताएका छन् । सन्देश जनप्रियसँग मंगलवार संक्षिप्त कुराकानीगर्दै नेता घिमिरेले पार्टी भित्रको आन्तरिक कुराहरु बाहिर कार्यकर्तामाझ ल्याएर राम्रो भएको छैन, यसले पार्टीलाई फाइदा नपुग्ने जनाए । साथीहरुले किन त्यसरी बाहिर कुरा ल्याउनुभयो, त्यो मैंले बुझेको छैन, र उहाँहरुले गर्नुभएको विषयमा मेरो कुनै टिप्पणी पनि छैन, किनकी उहाँहरुले जे गर्नुभयो त्यो भने राम्रो हुँदै होइन । काठमाडौमा रहनुभएका घिमिरेले पार्टी केन्द्रले जसलाई उम्मेदवार बनाए पनि आफ्नो लागि मान्य हुने टिप्पणी गरेका थिए ।

-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।