भक्तपुर/भक्तपुर अस्पतालको प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) मा डाक्टर सुमित्रा गौतम पुन: नियुक्त भएकी छन् । चर्को जनदबाबपछि अस्पताल प्रशासनले उनलाई फेरी नियुक्त गरेको हो ।
आज अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालले औपचारिक रुपमा गौतमलाई मेसुमा नियुक्त गरेको बिबरण बाहिर आएको छ । स्मरणीय छ गौतम सिन्धुली अस्पतालमा बसेर जनप्रिय काम गरेकी थिइन् ।
उनले पदभार सम्हालेसँगै अस्पताललाई उत्कृष्ट बनाउने योजना रहेको उनले प्रतिक्रिया दिइन् । उनले आजै अस्पताल व्यवस्थापन समितिको बैठक समेत बसिएको जानकारी दिँदै बालबालिकाको ओपिडी निःशुल्क गर्ने निर्णय गरिएको बताइन् ।
बैठकमा बेवारिशे लास तथा बेवारिशे व्यक्तिका उपचार निःशुल्क गर्ने विषयमा व्यवस्थापन समितिका पदाधिकारीबीच छलफल भएको छ ।
केही समयअघि उनलाई सो अस्पतालबाट अन्यत्र सरुवा गरिएको थियो । उनको सरुवासँगै जनताहरुले उनलाई सरुवा गर्न नहुने धारणा राख्दै आएका थिए । डाक्टर गौतमलाई हाल निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेटको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।