सिन्धुली/ नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक सभापति एवम् पत्रकारिता मार्फत राजनैतिक परिवर्तनको आन्दोलनमा योगदान गरेवापत बरिष्ठ पत्रकार शेषराज दाहाललाई विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
शहिद विशाल कुमारको १९ औं स्मृति दिवशमा आज प्रतिष्ठानद्धारा सिन्धुलीमा आयोजित कार्यक्रममा पत्रकार दाहाललाई पाँच हजार नगद, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । एमालेका केन्द्रीय सदस्य एवम् नेपाल बुद्धिजिवी संगठनका इन्चार्ज मनोजजंग थापाले बरिष्ठ पत्रकार दाहाललाई सम्मान गर्नुभएको थियो । थापा प्रतिष्ठानका संरक्षक हुनुहुन्छ ।
राजनैतिक तथा सामाजिक परिर्वतनमा शहिद शेरमान कुँवर र मोहनचन्दै गौतमसँग आफ्नो राम्रो संगत भएको र उहाँहरु कम्युनिष्ट पार्टीका इमान्दार र निष्ठावान नेता भएको बताउनुभयो । उहाँले शेरमान र मोहनचन्द्रबाट सिक्ने धेरै राम्रा गुणहरु भएको स्मरणगर्दै सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा उहाँहरुको निकै ठूलो योगदान रहेको बताउनुभयो । शहिद ऋषिराज देवकोटा आजाद दुर्गा सुवेदी र दलवहादुर रजनमगरको जस्तै योगदान उहाँहरुको भएपनि सरकारले अहिलेसम्म शहिद घोषणा नगरेर अपमान गरेको बताउनुभयो ।
माओवादी संघर्षका बेला उहाँहरुसँग बसेको विवरणहरु स्मरणगर्दे एमाले केन्द्रीय नेता थापाले अगाडि भन्नुभयो: कमरेड बिशाल र कुमारसँग अद्भुत क्षमता थियो, त्यही कारणले तत्कालिन सरकारले उहाँहरुको हत्या गर्यो । उहाँहरुले गरेको बलिदानबाटै हामिले अहिले यो परिवर्तनको अनूभूति गर्न पाएको उहाँको भनाई थियो
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका सल्लाहकार एवम् एमाले वाग्मती प्रदेश कमिटी सदस्य गणेश बुढाथोकीले शहिद कुँवरको राजनैतिक पृष्ठभूमि तथा उहाँले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका सभापति कृष्णहरी घिमिरेले शहिद शेरमान कुँवरको अलौकिक क्षमताको प्रसंसागर्दे उहाँको हत्यामा संलग्नहरुलाई दण्डित गर्न जरुरी रहेको बताउनुभयो । संघर्षकै क्रममा शेरमानजीले म आफ्नै भित्रबाट असुरक्षित छु भन्दै फोन कुराकानीमा बताउनु भएको खुलासागर्दै सभापति घिमिरेले नेताद्धयको हत्याको विषयमा खोजबीनगरी दोषीलाई दण्डित नगरेसम्म उहाँहरुले न्याय नपाउने ठोकुवा गर्नुभयो ।

सिन्धुलीमा कसैले नगरेको काम प्रतिष्ठानले गरेको भन्दै पत्रकारिता पुरस्कार स्थापना गरेर समाज परिर्वनका लागि कलम चलाउनेहरुलाई हौसला प्रदान गरेको टिप्पणी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो: सम्मानित व्यक्तित्वहरुका नाममा पत्रकारिता पुरस्कार स्थापना गरेर तपाईहरुले उदाहरणीय काम गर्नुभएको छ ।
कार्यक्रममा सम्मानित व्यक्तित्व शेषराज दाहालले शेरमान कुँवरलाई आफुले गौमती माध्यमिक विद्यालयमा २ कक्षासम्म पढाएको स्मरणगर्दै उनै विद्यार्थीका नाममा आफु सम्मानित हुन पाएको भर्वले छाती फुलेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: ‘मैंले राष्ट्रिय स्तरको पत्रकारिता पुरस्कार पाएको थिएँ, रकमकैं हिसावले पनि २ लाख थियो, तर मेरा लागि त्यो पुरस्कार भन्दा यो ५ हजार राशीको पत्रकारिता पुरस्कार निकै ठूलो रहेको अनुभति भइरहेको छ ।, सिन्धुलीमा अहिलेसम्म यस्तो पुरस्कार कसैले पनि स्थापना गरेका थिएनन, र आफ्नै कर्मभूमिमा यसरी सम्मानित हुन पाउँदा गर्व लागिरहेको छ ।’
शहिदपत्नी एवम् कार्यक्रमकी अध्यक्षता गर्नुभएकी प्रतिष्ठानकी अध्यक्ष निरु दर्लामी (शिला)ले सरकारले विशाल र कुमारलाई अहिलेसम्म पनि शहिद घोषणा नगरेकोमा दु:ख लागेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: हामीलाई शहिदका नाममा कुनै पनि सहयोग चाहिएको छैन, मात्रै राज्यका तर्फबाट शहिद घोषणा गरिदिए पुग्छ । छोटो तयारीका बीच आयोजना गरिएको कार्यक्रम भएकाले व्यवस्थित ढंगले कार्यक्रम गर्न नसकिएको बताउँदै सम्पूर्ण शहिदहरुलाई पार्टीले समान दृष्टिकोण राख्न आग्रह गर्नुभयो । शहिदहरु कुनै राजनैतिक दलका पेवा होइनन, उहाँहरु सबैका साझा व्यक्तित्व हुनुहुन्छ भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी शिलाले शहिदहरुले देखाएको सपना पुरा गराउनेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: विशाल कुमारको हत्याको विषयमा मैंले पनि केही तथ्यहरु संकलन गरेकी छु, तर उक्त घटनालाई कसरी अगाडि बढाउने भन्ने विषयमा केही पनि सोच्न नसकेकी छैन, अब पार्टी निर्णयबाट अगाडि बढ्नु पर्छ भन्ने लागिरहेको छ ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, सल्लाहकार परिषद सदस्य केशवप्रसाद देवकोटा, एमाले वाग्मती प्रदेश कमिटी सदस्यहरु खड्ग खत्री, शान्तिमान कार्की, जिल्ला अध्यक्ष रामकुमार कार्की, उपाध्यक्ष कर्ण घिसिंग, सचिव नारायण बराल, उपसचिव रस्मिला देवकोटा, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य विमला पाण्डेलगायतका नेता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चाला पत्रकार नविनवावु अधिकारीले गर्नुभएको थियो ।

प्रत्येक वर्ष भदौ २० गते पत्रकारिता पुरस्कार प्रदान गर्नेगरी आजैकै दिन सो पुरस्कार घोषणा गरिएको हो । आज प्रतिष्ठानले एक विज्ञप्तीजारी गर्दै १ लाख रुपैयाँ पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरिएको जनाएको छ ।

















