एकजना माओवादी कार्यकर्ताले एमालेले किन विशाल कुमार स्मृति दिवस मनायो भनेर फेसबुकमा छुद्र खालको टिप्पणी गर्नु भएछ । उहाँको त्यो टिप्पणी पढेपछि केही कुरा लेख्न मन लाग्यो ।
पहिलो कुरा नेकपा (एमाले) नेकपाको निरन्तरता हो । यसमा पुर्ब एमाले र पुर्ब माओवादीका दुबै थरीका अनुहारहरु अहिले क्रियाशिल छन् । जस्तो कि, न प्रचण्ड नेतृत्वको एमाओवादीमा एमाले अनुहार देख्न सकिन्छ, न त माधव नेपाल नेतृत्वको समाजबादीमा माओवादी अनुहार । नेकपाको निरन्तरताको पार्टीले एक अर्काको लिगेसीसँग जोडिएर आएका पुर्ब पार्टीका दिवस उत्सब मनाउनु स्वभाबिक छ । शहिद कसैको पेवा वा दाइजो होइन, जुन नितान्त निहित स्वार्थका लागि प्रयोग गरियोस् । उहाँहरुले बगाएको रगत देश र जनताको आमूल परिवर्तनका लागि राजनैतिक दल भन्दा माथि हो भन्ने तथ्यलाई स्वीकार्न सक्नु पर्दछ ।
जहाँसम्म सबै नेताको मनाउने न मनाउने प्रश्न छ । सबै दिवसहरु सबैले मनाइएकै छन् । तर क.विशाल र क. कुमारले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निष्ठा र इमानको छापा छोडेको र योगदान गरेको तथ्यलाई नेकपाका तत्कालिन नेताहरुले स्वीकार गरेको कुरा सबैलाई थाहा छ । उहाँसँग जोडिएका नेताहरु अहिले नेकपा हुँदै एमालेमैं हुनुहुन्छ त्यसैले नेकपाको निरन्तरताको रुपमा रहेको एमालेले उहाँहरुको दिवश मनाउँदा के के न भए जसरी को कोहोलो मच्चाउनु भनेको उक्त कार्यक्रमको सबै भन्दा बढी सूचना सम्प्रेषण भएछ । त्यो हुनु पनि स्वभाबिक होइन, किनकी उहाँहरु कहिल्यै अराजकता, अस्थिरता र गुटगत मानसिकता भन्दा धेरै माथि हुनुहुथ्यो र बिधी र पद्धतिलाई अँगाल्दै जनतालाई सर्बोपरी ठान्नुहुन्थ्यो ।
अर्को कुरा पुर्ववर्ती पार्टीले मनाउँदै आएका सबै दिवस वा आन्दोलन गलत र सहि थियो वा थिएन भन्ने प्रश्नमा उभिएर नेकपा एमालेले समिक्षा गरेको छैन । तर के सत्य हो भने अहिलेको राजनैतिक परिवर्तन ल्याउन सबै आन्दोलनका भुमिकाहरु महत्वपूर्ण छन् र त्यसका निम्ती प्राणको आहुती दिनेहरु सबै अब्बल र महान हुन् । नेकपा एमाले बिगतको समिक्षामा बढी रमाउने पार्टी पनि होइन भन्ने हेक्का राख्न पनि जरुरी छ ।
नेकपा (माले) हुँदै नेकपा एमाले निर्माणको इतिहास हेर्दा पनि नेपालका सबै खालका कम्युनिष्ट घटकलाई समेट्ने पृष्ठभूमिकै कारण आज नेपाली कम्युनिस्ट आन्दोलनको प्रमुख शक्तिका रुपमा एमाले स्थापित भएको छ । अहिलेको नेकपा एमाले सबै खाले पृष्ठभुमि बोकेका साथीहरु समेटेर जनताको बहुदलिय जनबादको जगमा समाजबादमा संक्रमण गर्न चाहान्छ । तत्कालिन नेकपा सारथीहरुलाई फेरी पनि एकैठाउँमा ल्याउन र एउटा बलियो र एकतावद्ध कम्युनिष्ट केन्द्र बनाउन नेकपा एमाले निरन्तर लागिरहेको तथ्य सिन्धुलीबाटै प्रारंभ भएको छ , त्यसलाई पनि भ्रम छर्ने मित्रहरुले बुझ्न जरुरी छ ।
जनयुद्धका असली कमान्डरहरु, जनयुद्धका डिजाइनरहरु, जनयुद्धका उपलब्धिका असली हकदारहरुको साझा निष्कर्षनैं हो “माओवादी पार्टी भगौडाहरु, दलालहरु, ठेकेदार र परिवारबादको कब्जामा परिसकेको छ । त्यहाँ भएका असल कार्यकर्ता पिल्सिएका छन् ।” अधिकांश युद्ध लड्ने नेकपा निरन्तरताको नेकपा एमालेमा छन्, त कि अरबको खाडीमा छन् कि पार्टी छोडेर सामान्य ढंगले जीवन निर्वाह गरिरहेका छन् । आज त्यहाँ सानो भन्दा सानो संकुचित सोच राख्नेहरुको झुन्ड मात्रै बाँकी छ । गएको २०७४ को निर्वाचनमा १७ लाख पाएको लोकप्रिय मत घटेर आज स्थानीय निर्वाचनमा १४ लाखमा आइपुग्दा पनि, निरन्तर ओरालो लागेको कुरा स्वीकार गर्दै नगर्ने परिस्थितिमा माओवादी केन्द्र छ र त्यसैको छटपटाहटले तथ्यलाई मोड्न प्रयत्न गर्ने र भ्रम छरेरै भएपनि आत्मरतिमा रमाउने प्रबृत्ति बढेको तथ्य कसैका सामु लुकेको छैन ।