सिन्धुली/नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको १९ बुँदे आरोपनैं नेकपा विभाजनको मुख्य कारण भएको बताउनु भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीद्धारा आयोजित बिशाल जनसभालाई सम्बोधनगर्दै उहाँले सो कुरा बताउनु भएको हो । प्रमुख अतिथीका रुपमा बोल्दै उहाँले पुष ५ गते विहान १९ बुँदे आरोपपत्र फिर्ता लिएर नेकपाको भविष्य जोगाउन प्रचण्ड निवास खुमलटार पुगेको स्मरणगर्दै प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनलाई छियाँ छियाँ मात्रै बनाउने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो: प्रचण्डमा राजनीतिक स्थिरता नभएकाले उनको बुताबाट कम्युनिष्ट आन्दोलन अगाडि बढ्न नसक्ने र माओवादी केन्द्र र एकिकृत समाजबादीमा रहेका कम्युनिष्ट आन्दोलनलाई माया गर्ने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई एमालेमा समाहित हुन अपील गर्नुभयो ।
यो सरकार आएपछि एक वर्षको अवधिमा मुल्य बृद्धि दोब्बर भएको, सोधान्तर स्थिति ७०/८० करोड नाफाको अवस्थाबाट ३ खर्ब भन्दा बढि घाटामा पुगेको, विदेशि मुद्राको संचिति १३ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्थाबाट ६ महिनाको बस्तु तथा सेवा पनि धान्न नसक्ने अवस्थामा झरेको बताउनुभयो ।
महासचिव पोखरेलले सबै खाले आर्थिक सूचकहरु निरासाजनक अवस्था तर्फ गएकाले अबको एक वर्ष गठबन्धन सरकार सहनु परे देश श्रीलङ्काको बाटोमा पुग्ने ठोकुवागर्दै गठबन्धन सरकारलाई पराजित गर्न र नेपालमा एकिकृत कम्युनिष्ट केन्द्र बनाउनका लागि एमालेमा समाहित हुन आब्ह्वानसमेत गर्नुभयो ।
नाकाबन्दीको डटेर सामना गर्ने, संविधान सभाबाट संविधान जारि गर्न हिम्मत गर्ने, मिचिएको भूमि फिर्ता ल्याउने, ठाडो शिरले बोल्ने प्रधानमन्त्री देशलाई आवश्यक भएकाले पुन केपी शर्मा ओलीलाई देशको भावि प्रधानमन्त्रीको रुपमा अगाडि सारेर एमाले चुनाबी मैदानमा होमिएको बताउँदै महासचिब पोखरेलले प्रधानमन्त्री भारतमा गएर होइन जनताका विचमा गएर प्राप्त गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्न आगामी निर्वाचनमा एमालेलाई बहुमत दिनुको विकल्प नभएको बताउनुभयो ।

पूर्वको रोल्पाको रुपमा चिनिएको सिन्धुलीको मरिण क्षेत्रमा आयोजना गरिएको एमालेको बिशाल जनसभामा एमाओवादीका केन्द्रीय सदस्य, जिल्ला संयोजकसहित ५ सय भन्दा बढी नेता कार्यकर्ताहरु सयौ नेता कायकर्ताहरु नेकपाएको निरन्तरताको रुपमा एमाले समाहित भएपछि सिन्धुली माओवादीलाई ठूलो धक्का लागेको छ ।
एमाओवादीकी केद्रीय सदस्य मिथिला फूयाँल, सिन्धुली जिल्ला संयोजक रामकुमार पौडेल, मरिण गाउँपालिका कमिटिका अध्यक्ष गोपाल बुढाथोकी सहित ५ सय भन्दा बढी नेता कार्यकर्तालाई महासचिव पोखरेलले फुलको गुच्छा दिएर एमालेमा स्वागत गर्नुभएको थियो । एमाले जिल्ला कमिटी अध्यक्ष रामकुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण बराल र स्वागत मन्तव्य उपाध्यक्ष कर्ण घिसिङले राख्नु भएको थियो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् बन तथा वातावरण विभाग इन्चार्ज विषमलाल अधिकारी, वुद्धिजिवी इन्चार्ज मनोजजंग थापा, सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडी, सह इन्चार्जहरु कमलजंग राई, उमा कोइराला, निरु दर्लामीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।






















