एमाले केन्द्रीय कमिटी बैठक : यी हुन् उम्मेदवार चयनका पाँच मापदण्ड

नेकपा एमालेकाे केन्द्रीय कमिटीको चौथो बैठक उम्मेदवार छनोटको मापदण्ड तय गर्दै सम्पन्न भएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न निर्देशन दिँदै बैठकले उम्मेदवार छनोटका लागि पाँच मापदण्ड बनाएको छ।

शुक्रबार सुरू भई शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेशसभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएको।

क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशको रायसहित सिफारिस गर्न निर्देशन गरिएको पार्टी उपमहासचिव समेत रहेका गुरुङले जानकारी दिए।

त्यसरी प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गर्दा एक क्षेत्रबाट एक महिलासहित तीनजनाको नाम  पठाउनुपर्ने निष्कर्ष बैठकले निकालेको उनले बताए। 

सिफारिसमा परेका व्यक्तिले उम्मेदवार बनेको जसरी प्रस्तुत हुन नपाइने भन्दै तलबाट सिफारिस भएका नाम केन्द्रबाट हेरफेर  हुन सक्ने उनकाे भनाइ थियाे।

यी हुन् उम्मेदवार चयनको मापदण्ड

–पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता
–लोकप्रियता र विजयको सुनिश्चितता
–पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान
–सन्तुलन र समावेशिता
–निर्वाचन कानुनबमोजिमको योग्यता