नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको सम्बृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताए । प्रेस चौतारी सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवागर्दै तत्काल निर्वाचनमा जानुपर्ने बताए ।
उनले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको प्रमाणित गरे । तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारलेनै पुष्टि गरेको बताए । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको दाबी गरे ।
उनले बजेट बक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियतार विश्वास दुबै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र गरिरहेको आरोप लगाए । एमाले निर्वाचन सार्ने गठबन्धनको षडयन्त्रको मुकाबिला गर्न तयार रहेको पनि बताए । आगामी निर्वाचन स्वच्छ, निश्पक्ष र धाँधलीरहित भएमा नेकपा एमालेले बहुमत ल्याउने र नभएपनि देशको सबैभन्दा ठूलो दल हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।
अर्थतन्त्रको परिसुचकले नेपालको अर्थतन्त्र अन्तन्त कमजोर रहेको र कुनै पनि विदेशी मुद्राको सञ्चिती सकिने बताए । नेपालको अर्थतन्त्रले बस्तु र सेवा खरिद गर्न नसक्ने अबस्थामा पुगिसकेको बताउँदै एमालेले मुलुकको शासन सत्ता छोड्दा अर्थतन्त्र मजबुत रहेको उल्लेखगरे । उनले विदेशीको इशारामा चलेको सरकारले देश गंभीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको दाबीसमेत गरे ।
