आज राजनीतिलाई द्रब्यमुखी ब्यवसाय बनाएर सिद्धान्तहीन, बिचारहीन, मूल्यमान्यता बिहीन मात्रै तुल्याइएको छैन लक्षबिहीन प्रहार र दिशाबिहीन गतिमा समेत धकेलिएको छ । आम नेपाली जनताको अशा र अपेक्षालाई लत्याउँदै जस्तो बिबादास्पद संविधान बिबादास्पद दोश्रो संविधान सभाबाट ल्याइयो त्यो बिबादको भुवरीमा धकेलिनु, नेपाली जनताको एकता र राष्ट्रिय अक्षुण्णतलाई कमजोर पार्नु र मुलुकलाई थप अन्यौल र अनिश्चिततामा चरणमा मोड्ने धरातल निर्माण गर्नु बस्तुतः यस्तै गम्भीर प्रबृत्तिको पछिल्लो उदाहरण हो । यस्तो जटील बेलामा आफुले अंगीकार गरेको बिचार, पक्रिएको सिद्धान्त र अपनाएको मूल्यमान्यतामा आधारित भएर कस्तै कठीन परिस्थितिमा पनि त्यसमा अडिग भएर चल्ने पुष्पलाल र बीपी जस्ता राष्ट्रका दुइ महान ब्यक्तिहरुलाई कसरी बुझने यो एउटा गम्भीर प्रश्न हाम्रा अगाडि उपस्थित भएको छ । बीपी र पुष्पलालको नाम भजाएर श्राद्धमा बिरोलो बाँध्ने कुरा मात्र दोर्याइरहने हो भने बेग्लै कुरा हो । त्यस्तो अन्धबिश्वासले कुनै सार्थकता प्रदान गर्दैन । त्यो फगत एउटा औपचारिकता पूरा गर्ने कर्मकाण्डीय भजन कीर्तनको कुरा मात्रै हुन जान्छ । तर दुःखपूर्वक भन्नु पर्छ आज हामी मूलतः यस्तै स्थितिबाट गुज्रिरहेका छौं ।
बास्तवमा नेपाली राजनीतिलाई आधुनिक मूल्य मान्यताको अग्रगामी मूलबाटोमा हिडाउने, दिशानिर्देश गर्ने र सर्बाधिक प्रभावित तुल्याउने नेपाली राजनीतिक इतिहासका दुइ प्रखर ब्यक्तित्व हुन कमरेड पुष्पलाल र बीपी कोइराला । यो कुरा सत्य हो कि उनीहरुको जीवन दर्शन एउटै थिएन । उनीहरुले नेपालको आधुनिकीकरण र लोकतान्त्रिकरणका बिषयमा बेग्ला बेग्लै बिचार, आदर्श, सिद्धान्त, नीति र कार्यक्रम अघि सारेका थिए र त्यसमा अखण्डितरुपमा आस्थाबान थिए । तथापि त्यसैको बिचमा पनि उनीहरुले साझा सहमति र सहकार्यको खोजी पनि गर्ने गर्थे र परस्पर अन्तरबिरोधका कुरालाई थाँती राख्दै नेपाली जन आन्दोलनको बिकास गर्ने र त्यसलाई जोगाउने क्रममा सहकार्यको कुरालाई प्रवलरुपमा अघि बढाउन चाहन्थे भन्ने कुरा इतिहास केलाउँदा प्रष्ट हुन्छ ।
बिशेषतः कामरेड पुष्पलालले राजा महेन्द्रको २०१७ सालको प्रतिगामी कदमपछि प्रष्ट र प्रखररुपमा राजतन्त्रका बिरुद्ध साझा दृष्टिकोण बनाएर कम्युनिष्ट र काग्रेस एकभइ लड्नु पर्ने कुरामा जोड दिदै संयुक्त जन आन्दोलनको नीति अघि सारेका थिए र राजाद्वारा नेतृत्व गरिएको सामन्ती अधिनाकयबादी प्रञ्चायती ब्यवस्था नेपाली जनताको साझा दुश्मन, नेपाली समाज बिकासको साझा अबरोध र त्यसलाई पञ्छाउनै पर्ने अनिवार्यता र आवश्यकताको बोध गराएका थिए । बीपीको नेतृत्वमा नेपाली काग्रेसले पनि २०१८ साल र २०३१ र ३२ सालमा राजतन्त्र बिरुद्ध सशस्त्र संघर्ष चलायो । यसले पनि कग्रेस र कम्युनिष्ट दुबैको साझा दुश्मन राजतन्त्र हो भन्ने कमरेड पुष्पलालको दृष्टिकोण सही थियो भन्ने प्रष्ट हुन्छ । तर पुष्पलाल भने ब्यापक नेपाली जनतासँग नङ मासु सरह नगाँसिएका सशस्त्र संघर्ष अपरिपक्क र असफल हुन्छ र त्यस्तो संघर्षबाट देश र जनतलाई जोगाउनु पर्दछ भन्ने पक्षमा थिए । सशस्त्र संघर्ष गर्ने कार्यकर्ताको दबाव पर्दा कमरेड पुष्पलाले हमेशा सम्झाउने गर्दथे कि नेतृत्वको एउटा समय निरपेक्ष गलत निर्णयले लाखौ जनता र हजारौ कार्यकर्ताको जीवन बर्बाद हुन सक्तछ र सही र समय सापेक्ष निर्णयले करोडौ जनतामा नयाँ ऊर्जा, उत्साह र आत्म बिश्वासको सञ्चार गर्दछ । अनि आमूल सामाजिक परिवर्तनको माथिल्लो चरणमा आन्दोलनलाई उठाउन र बिकसित गर्न थप मद्दत गर्दछ भन्दथे । यस सन्दर्भमा उनले संयुक्त जन आन्दोलनको माध्यमबाट जनतालाई शोषण, उत्पीडन, असमानता, अन्याय, अभाव र गरीबी र शोषण थोपर्ने परिपाटीका बिरुद्ध तथा त्यसको कारण एवं निवारणका बारेमा जनतालाई सचेत, संठित र संघर्षशील बनाएर मात्र सशस्त्र संघर्ष जनताद्वारा, जनताका लागि जनताले चलाउने संघर्षमा बिकसित गर्न र सफल तुल्याउन सकिने कुरा बारम्बार सम्झाउने गर्दथे । पुष्पलालको दृष्टिमा कुनै पनि प्रकारको संघर्ष समाज र बर्ग सापेक्ष थियो । निरपेक्ष बिल्कुलै थिएन । आमूल निर्णायक परिवर्तन निर्णायक स्वरुपको संघर्षबाट मात्रै सम्भव हुन्छ भन्ने कुरामा पुष्पलालमा कुनै अस्पष्टता र द्विबिधा बिल्कुलै थिएन । यहाँ लेनिनले सशस्त्र संघर्ष क्रान्तिको शल्यकृयात्मक अंश हो (आर्म्ड स्ट्रगल इज द अपरेशनल पार्ट अफ दि रिभोल्यूशन) भन्ने कुरालाई पुष्पलालले राम्रोसँग आत्मसात गरेको देखिन्छ ।
निश्चय नै पुष्पलाल र बीपीका बीच राजनीतिक परिवर्तनको अबरोध र त्यसलाई बदल्नुपर्ने आवश्यकता, औचित्य र आधार समान बोध भए पनि उनीहरुका लक्ष र गन्तब्यका आ-आफ्नै सीमा थिए । बीपीको प्रजातान्त्रिक समाजवाद र पुष्पलालको बैज्ञानिक समाजवादले यो कुरा प्रष्ट पार्दछ । तथापि सामन्तबादलाई समाप्त पारेर त्योभन्दा उन्नत र आधुनिक माथिल्लो चरणमा नेपाली समाजलाई लैजाने र देशलाई अग्र गति दिनपर्ने कुरामा दुबै नेतामा कुनै आधारभूत अन्तरबिरोध थिएन । त्यसैले त्यहाँ साझा दृष्टिकोणको धरातल देखेर नै कामरेड पुष्पलालले संघर्षमा सहकार्यको मार्गमा हिड्न सकिने यथार्थ राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको परिप्रेक्षमा औल्याएका र अघि सारेका थिए । संयुक्त जन आन्दोलनको समय सापेक्ष सही नीति । तर बीपी र पुष्पलाल जीवित छँदा बनारसको टाउन हलमा एउटै मञ्चमा खडा भएर राजतन्त्र र राजाको नेतृत्वको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरुद्ध संयुक्त आवाज उठाउने भन्दा बढी अगाडि बढ्न सम्भव भएन । यद्यपि त्यतिबेला त्यत्ति कुराले मात्र पनि संयुक्त जन आन्दोलनको स्पष्ट बस्तुगत आवश्यकताको सन्देश दिएको र ठूलो तरंग पैदा गरेको थियो । संयुक्त जन आन्दोलनको त्यो नीति २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरोधी ऐतिहासिक संयुक्त जन आन्दोलन र २०६२ र ६३ सालको राजतन्त्र बिरोधी बृहत ऐतिहासिक संयुक्त जन आन्दोलनमा ब्यवहारमा प्रष्टरुपमा परिलक्षित र चरितार्थ भएको थियो । दुबै नेता जीवित छँदा संयुक्त जन आन्दोलनले मूर्त र ठोस रुपाकार लिएर अघि बढ्न नसकेको भए पनि त्यो दिशाबोधले माथि उल्लेख गरिएका तीनवटा काल खण्डमा एक पछि अर्को संयुक्त आन्दोलनको श्रृंखला सिर्जना गरेको र त्यसले झन् पछि झन् बृहत सफलता पाएको कुरा हाम्रो अगाडि अखण्ड र अमिटरुपमा उपस्थित छ । नेताहरु सँधै नरहने भए पनि सही नीति हमेशा कायम रहन्छ र अघि बढ्दछ भन्ने कुरा यसबाट पनि प्रमाणित र प्रष्ट हुन्छ । कमरेड पुष्पलालको नेता प्रधान होइन, नीति प्रधान हुन्छ भन्ने ऐतिहासिक अनुभवहरुको निचोडलाई पनि यसले अझ सार्थक तुल्याएको र स्पष्ट पारेका वास्तविकतालाई बुझ्न सकिन्छ ।
पीएल अर्थात् क. पुष्पललालको २०३५ सालमा र बीपीको २०३९ सालमा निधन भए पनि संयुक्त जन आन्दोलनको सही नीतिले नेपाली समाजको अन्तरबिरोध हल गर्ने बाटो लिन्थ्यो नै र लियो पनि । प्रधान अन्तरबिरोध हल नगरी एक पाइला पनि नेपाली राजनीति अघि बढ्न सक्ने कुनै बाटो थिएन । त्यसैले राजासँगको मेलमिलापको कार्यनीतिले पनि वास्तवमा राजाको मन पग्लिने र बर्गीयरुपमा राजतन्त्र बद्लिने कुरा थिएन । अन्ततः संयुक्त जन आन्दोलनले नै त्यसलाई सत्ता केन्द्रबाट बिस्थापित गरिदियो र आज देशमा गणतन्त्र आएको छ । तर संविधान सभामाथि अबाञ्छित खेलबाड गरेर भए पनि सत्ताको लुछाचुँडीमा मूख्य दलहरु लिप्त हुँदा पहिलो संविधान सभाको असामयिक र दुःखद अबसान भयो । परिणामतः बिवादास्पद दोश्रो संविधान सभाबाट गणतन्त्रलाई सही किसिमले सस्थागत गर्ने, राज्यको सही किसिमले दूरगामी र टिकाउ संघीय पुनर्बिन्यास गर्ने तथा जनतालाई राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक हरेक किसिमले सबल, सक्षम र सफल एबं स्वशासित बनाउने दिशामा देशलाई अग्रसर गराउन मार्गदर्शन गर्ने खालको संबिधान निर्माण हुन नसकेको गुनासो र असन्तुष्टी आज पनि देशमा ब्याप्त छ । जे जस्तो संविधान बनेको छ त्यसको सीमा भित्रै रहेरै पनि त्यसबाट कार्यलाई फेरि पनि फत्ते गरिछाड्ने बिश्वासको बातावरण सिर्जना गर्न नेतृत्वले सकेको छैन । कुर्सीमुखी प्रबृत्तिलाई तिलाञ्जली दिएर बिगतका भयंकर महाभूलरुप्रति आत्म समीक्षा गर्ने सहास पनि देखाउन सकेको छैन । बरू त्यस बिपरीत एक पछि अर्को जनद्रोही र राष्ट्रद्रोही सम्झौता गर्ने र बाह्य शक्तिमा भरपर्ने अबाञ्छित कदमहरू चालिरहेको छ । यस्ता गतिबिधिप्रति जनतासँग क्षमा याचना गर्दै अघि बढ्न त के त्यसो गर्ने कल्पनासम्म पनि गर्न चाहेको देखिदैन । फलतसः देशलाई सही दिशा र अग्रगति दिन सकिने आधार तयार गर्नेतिर संसदीय सत्तामा बसिसकेका र बसिरहेका कुनै पनि रंगरूपका दलहरू लागेका छैनन् र लाग्ने अपेक्षा पनि गर्न सकिदैन । कार्यपालिका, ब्यबस्थापिका र न्यायपालिका जस्ता कुनै राष्ट्रय निकायले नेपालको राष्ट्रिय हितमा केही सकारात्मक आशा गर्न सकिने र भरपर्न सकिने स्थिति सिर्जना गरेनन् । बरू स्वयंप्रति सन्देह र निराशाको बातावरण बनाए । यो वास्तबमा बिचलित राजनीति, गलत ध्रुबीरकणा र समीकरण बस्तुतः यो ब्यवस्थाकै परिणति बन्न पुगेकाके छ । फलतः देश थप द्वन्दमा फँस्ने तथा फेरि पनि बाहृय शक्तिहरुको अबाञ्छित अखडा बन्ने गम्भीरतम स्थिति देखिएको छ । त्यसले गर्दा आज गणतन्त्र, राष्ट्रियता र जनजीविका सबै संबेदनशील कुरा जुन गम्भीर खतराको संघारमा पुगिरहेका छन् त्यस दलदलबाट निस्कन पटक्कै सकिने छैन । अनि यस्तो स्थितिमा पुष्पालाल र बीपी जस्ता राष्ट्रिय चरित्र, चिन्तन भएका सिद्धान्तनिष्ठ, इमानदार र समर्पित ब्यक्तित्वको सम्मान हुन पनि सक्तैन । त्यसैले आज बीपी र पुष्पलालको जस्तो देश र जनताप्रतिको निस्वार्थ समर्पण, त्याग र निष्ठाको पुनरोत्थान गर्नुपर्ने आवश्यकता अत्याधिक बढेको छ । यसो गर्न सकेमा मात्र अब देशले सही निकास पाउने, अन्योल र अनिश्चितताको पनि अन्त्य हुने छ । यसो गर्न ब्यबस्था र अबस्था दुबै परिबर्तन गर्न तत्पर हुनै पर्दछ । जनता र राष्ट्रको हितमा यसो गर्न सकेमा मात्र नेपाली जन आन्दोलनका दुइ शीखर पुरुषहरुप्रति भावपूर्ण श्रद्धाञ्जली हुनेछ ।