सन्दर्भः ४४ औं पुष्पलाल स्मृति दिवश: स्मृतिमा त्यस बेलाका पुष्पलाल

२००६ साउन ७ अर्थात सन १९४९ अप्रिल २२ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका साथै कमरेड पुष्पलालले दुई वर्ष २००८ सालसम्म महासचिव चलाए । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलो पटक नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र थियो ।
पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा नयाँ जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ । २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भारतको कलकत्ता श्याम बजारमा भएको हो । त्यहीबेला संस्थापक महासचिव क. पुष्पलालले नेतृत्व गरेर उहाँसहित ६ जना पुष्पलाल, नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी, मोतीदेवी, निरन्जन गोविन्द वैद्य संस्थापकको रूपमा चिनिए ।
२००६ सालपछि नेपाली समाजलाई हेर्ने वैज्ञानिक दृष्टिकोण पनि पुष्पलालले अगाडि सारे । त्यसभन्दा पहिला धार्मिक कुराले समाजलाई गाँजेको थियो । त्यतिबेला नेपालमा ईश्वरले यो पृथ्वी सिर्जना गरेको, जे कुरा हुन्छ ईश्वरको देन वा कृपाका कारणले हुन्छ भन्ने जुन धार्मिक अतिवादी सोच थियो १ त्यो सोचभन्दा फरक भौतिकवादी दृष्टिकोणले हेर्न बाध्य पार्ने श्रेय पनि पुष्पलाललाई नै जान्छ ।
पुष्पलाल जुनसुकै विषयमा पनि अतिवादी हुनुहुँदैन भन्ने विचारधारा राख्थे । कम्युनिष्ट पार्टी संगठन, नेता, सिद्धान्त र संघर्षबाट बन्ने प्रगतिशील पार्टी हो र यसको मेरुदण्ड पनि यिनै विषय हुन् भन्ने मान्यता उनको थियो । २००८ सालको पहिलो सम्मेलनबाट उनी आफैंले स्थापना गरेको पार्टीको महासचिव पदबाट हटाइए र उक्त पदमा मनमोहन अधिकारी पुगे । पुष्पलालले शायदै कल्पना गरेका थिए कि; आफूले स्थापना गरेको कम्युनिष्ट पार्टीमा आफैं अल्पमतमा पर्छु भनेर ?
उनी अल्पमतमा परेपछि कम्युनिष्ट पार्टी विचार, संगठन, सिद्धान्त र संघर्षबाट चल्ने हुनाले सम्पूर्ण दस्तावेज, घोषणापत्र, लेखरचना पुष्पलालको विचार भएकाले आफू नेतृत्वमा नभए पनि कम्युनिष्ट सिद्धान्त अगाडि बढेको भएर चित्त बुझाउने गरेको मानिन्छ ।
२०१० सालको पहिलो महाधिवेशनबाट सबै मिलेर पुष्पलाललाई फेरि अल्पमतमा पारियो र तेस्रो महासचिव तुलसीलाल अमात्य बने । यसबीच कांग्रेसले नेतृत्व गरेको सरकारले नेकपालाई प्रतिबन्ध समेत लगायो । २०१५ सालको नेपालको इतिहासकै पहिलो आम निर्वाचनमा नेकपाले ४ सिट जितेको थियो । २०१५ देखि २०१७ सम्म बीपी कोइराला नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । २०१७ सालपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरेर पञ्चायती व्यवस्था लागू गरेपछि फेरि नेकपालाई पञ्च र राजाले प्रतिबन्ध लगाए ।
त्यसक्रममा केशरजंग रायमाझी समूहले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि नेकपा विभाजन भयो । विभाजनपछि झापामा वर्ग शत्रु सफाया अभियान चलाउँदै झापा क्रान्तिमार्फत नेकपा माले र हालको एमालेको रूप लिएको हो । मनमोहन अधिकारी र पुष्पलालको धार २०४७ सालमा एकीकृत भएर एमाले भयो ।
मोहनविक्रम सिंह, निर्मल लामाको नेतृत्वमा विभिन्न समूह नेकपा चौम, मोटो मशाल, पातलो मसाल, एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । मोहनविक्रम सिंह भने पातलो मसाल बोकेर बसिरहेका छन् । २०१५ सालमा ४ सिट जितेको नेकपा पञ्चायतकालमा विभिन्न आरोह र अवरोह, विभाजन भएर पनि तत्कालीन माले र माक्र्सवादी मिलेर बनेको एमालेले २०४६ सालपछिको जनआन्दोलनपछि ६९ सिट र माओवादीले ९ सिटसहित तेस्रो दल भएको थियो । २०५१ सालको आम निर्वाचन बहिष्कार गरी माओवादीले संसदीय व्यवस्थाको विरोध गरी २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष थाल्यो ।
त्यस्तै एमाले २०५१ सालको आम निर्वाचनमा ८८ सिटसहित पहिलो पार्टी बन्यो र दक्षिण एशियामानंै पहिलो पटक कम्युनिष्ट पार्टीको एकल सरकार गठनभयो । यस सरकारलाई निकै लोकप्रिय सरकारको रूपमा पनि हेर्न सकिन्छ । तर यो सरकार जम्मा ९ महीना मात्र टिक्यो । फेरि २०५४ सालमा पार्टी विभाजित भयो । २०५६ को आम निर्वाचनमा ७० सिटसहित एमाले दोस्रो पार्टीबन्यो ।
२०६२ र ६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचनमा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो बन्यो । यसबीचमा कम्युनिष्ट पार्टीबाट क. मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल (प्रचण्ड), झलनाथ खनाल, बाबुराम भट्टराई, केपी शर्मा ओली प्रधानमन्त्री बन्न सफल भए । २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएमा दुई कम्युनिष्ट पार्टीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भएका थिए ।
यो कम्युनिष्ट पार्टीको एकता नै नेपालमा कम्युनिष्ट पार्टीको सबैभन्दा ठूलो सफलता थियो । पाँच वर्षको लागि बनाइएको दुई तिहाइ नजिकको कम्युनिष्ट सरकार र पार्टी छिन्नभिन्न भएसँगै आजसम्म २००६ देखि २०७९ साउन ६ गतेसम्म आइपुग्दा विभिन्न आरोह र अवरोहको अवरोध पार गर्दै यहाँसम्म आइपुगेको छ ।
पुष्पलालको शक्तिनैं विचार हो । उनकै विचारका कारणले नेपालका कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित छन् । सामान्य नेता आन्दोलनले जन्माउँछ । त्यसले आन्दोलन र विद्रोह पनि जन्माउँछ भन्ने प्रमाण पुष्पलाल हुन् । यो सबै नेपाल कम्युनिष्ट पार्टीको नाम र योगदान विना सम्भव थिएन । नेपालमा अहिलेको नेकपा एमालेको निरन्तरता र कम्युनिष्ट आन्दोलनका प्रणेता एवम् इतिहास पुरुष पुष्पलाल हुन् । उनलाई नसम्झी कम्युनिष्ट पार्टी सम्झनु अपुरो र साँघुरो रहनेछ । ४४ औं पुष्पलाल स्मृति दिवशको अवसरमा उहाँप्रति श्रद्धासुमन । (लेखकः प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज हुनुहुन्छ) यो आलेख आजको प्रभात समाचार दैनिकबाट लिइएको हो ।