यतिबेला हामीसँग तेजिला प्रश्नहरू छन् । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता प्राप्तिपछि पनि किन निराशा र मोहभंगको स्थिति आइरहेको छ ? गाउँ गाउँमा सिंहदरवार पुग्यो तर परिवर्तनको अनभूति जनताको घरदैलोसम्म किन पुग्दैन ? को हो त्यो, जसले परिवर्तनको अनुभूति बीचैमा काटेर लैजान्छ ? मलाई प्रधानमन्त्री बनाइदेउ भन्दै बिस्तारवादी शक्तिसामू लम्पसार पर्ने हाम्रा राजनेताको पछिल्लो शैलीले नेपाली राजनीतिको कुरुप दृश्य देखाइरहेको छ ।
राष्ट्रियता र राष्ट्रवादको गाथा सधैं घन्किरहने देशका प्रत्येक नयाँ पुस्ताले भविष्यको सपना किन विदेशतिर खोजिरहेछन् ? सपनै सपना कोरिएको धर्तीमा किन सपना फुलाउनै नसक्ने बनायौ ? शुन्दर र शान्त नेपाल कुन शक्ति, विचार वा वादले चलाइरहेको छ ? यसको गंभीर समिक्षा जरुरी छ ।
इतिहासका लिखतहरु खोज्दा भेटिने लालमोहर, मुलुकी ऐन, संविधान, कानुन र व्यवहारमा राज्यको विचार अभिव्यक्त भइरहेको हुन्छ । के यस राज्यको विचारले जनतासँग प्रेमपूर्ण र सिर्जनशील सम्बन्ध बनायो ? विभेद, उत्पीडन, खिसिटिउरी, अत्याचार, थिचोमिचो, भ्रष्टाचार मात्र उत्पादन गर्ने चरित्र राज्ययन्त्रभित्र कसरी रोपियो ? लोकतन्त्र, गणतन्त्र, माक्र्सवाद, लेनिनवाद,समाजवाद, राष्ट्रवाद आदि बिचारको आलोकमै राजनीति चलेको छ तर यो राजनीतिले पनि जनताको शिर कहिल्यै उठाउन सकेन ।
विचारको संकट, राजनीतिको संकट, अर्थतन्त्रको संकटैसंकटको भूमरी त्यसै उठेको छैन । यसका आयामहरूबारे खोजी गर्नु हाम्रो सपना हो । संसारमा माक्र्स, लेनिन, माओ, विपी, पुष्पलाल मदन भण्डारी, सिजिन पिङ, डोनाल्ड ट्रम्प, नरेन्द्रमोदी र केजरीलालजस्ता पात्रहरू जुन धरातलबाट पैदा भए, त्यसको अनुसन्धान जरुरी छ । विचारको नदीमा बहाव रोकियो भने तानाशाही जोकरले स्टेज कब्जा गर्छ र घागडान विद्वानहरूलाई नै हावाहुरीमा नचाउन थाल्छ । यस्तै दुर्घटना नेपाली समाजले अहिले निरन्तर भोगिरहेको छ । -प्रेम दाहाल