बैंकरोडको ब्यस्त बजारको शिरानमा रहेको जनसेवा पुस्तकालय । नेपाल पत्रकार महासंघ लेखिएको भव्य घर । त्यस घरमा जिल्लाकै सबैभन्दा पुरानो जनसेवा पुस्तकालय छ । पुस्तकालय भित्रका पुस्तकहरु एकाध पाठक खोज्छन । तर, मानिसहरु भने छिटफुट बाहेक प्राय सुनसान रहन्छ ।
स्टील ¥याकहरुमा सजाएर राखिएका पुस्तकहरु जस्ताको तस्तै छन् । कोही आउँदैनन्, खोज्दैनन् । पढ्ने पाठकहरु नआएका कारण ती पुस्तकहरु सजावटका लागि मात्र भएझै देखिन्छन् । झण्डै २ हजार भन्दा बढी पुस्तकहरु अहिले त्यतिकै थन्किएझैं लाग्छन् । पुस्तकहरुप्रति मानिसहरुको आकर्षण कम हँुदै गएको देखिन्छ । जसका कारण महत्वपूर्ण पुस्तकहरु भित्रको ज्ञान गुमनाम छ । पाठकहरुले पुस्तक खोज्ने समयमा पुस्तकहरुले पाठक खोजिरहेको भान हुन्छ ।
जिल्लाको सबै भन्दा पुरानो पुस्तकालयका रुपमा रहेको यो पुस्तकालय निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध कम्युनिष्टहरुले पठन संस्कृतिको विकासका लागि सञ्चालनमा ल्याएका थिए तर अहिले यहाँ ती महत्वपूर्ण पुस्तकहरु छैनन् । जिल्ला पञ्चायत सभापति टिकाजंग थापाको अध्यक्षतामा सञ्चालन ल्याइएको जनसेवा पुस्तकालयको हर्ताकर्ता थिए सहिद पिता शेषराज दाहाल । पुस्तकाध्यक्ष पदमा रहेर सो पुस्तकालयको जिम्मेवारी सम्हालेका दाहालले पञ्चायत विरोधी अर्थात रसियन साहित्य र चिनियाँ क्रान्तिका पुस्तकहरु ग्रामिण इलाकाहरुमा सप्लाई गरेको सूचना पाएपछि तत्कालिन पञ्चायती शासकहरुले जनसेवाको नाममा रहेको जग्गा र पुस्तकालय खारेज गरेका थिए ।
अहिले नेपाली साहित्य, ऐतिहासिक पुस्तकहरु, एकाध राजनीतिक दस्ताबेज तथा पुस्तकहरु, बाल साहित्य र अन्तर्राष्ट्रिय पुस्तकहरु संकलित अवस्थामा छन् । तर, त्यसको उपयोग भने हुन सकेको छैन । पुस्तकको महत्व अझै कम नहुँदा नहुँदै पनि जनसेवा भने सुनसान अवस्थाझैं अगाडि बढिरहेको छ ।
पठन संस्कृतिको अभाव बढेपछि त्यसमा सुधार गर्न सकिन्छ कि भनेर वरिष्ठ पत्रकार शेषराज दाहालले बदलिंदो युग अनुसार जनसेवामा इ–लाइब्रेरी पनि सञ्चालनमा ल्याउनु भएको छ । तर यसको अबस्था पनि उस्तै छ ।
सिन्धुली जिल्ला सदरमुकामको प्रमुख केन्द्रमा यी पुस्तकालय भए पनि पाठकको आँखामा पर्ने गरेको छैन ।
पुस्तकालयकी कर्मचारी हिरा देवकोटाले काम गर्न थालेको पनि ४ वर्ष भन्दा बढी भइसकेको छ । तर, साँच्चिकै पुस्तक पढ्न वा पुस्तक खोज्न आउने मानिसहरुको संख्या विगतमा भन्दा कम हुन थालेको उनको भनाईछ ।
पुस्तकालयले पठन संस्कृतिको अभाव देखिएपछि वालवालिकामा अध्ययनको विकास गराउन भन्दै जिल्लाका विभिन्न माध्यमिक विद्यालयहरुको पुस्तकालयलाई विभिन्न पुस्तकहरु वितरण गरिरहेको छ ।
जनसेवा पुस्तकालयको जन्म हुँदा देशमा पञ्चायती व्यवस्थाको चौतर्फी प्रभाव थियो र ढाडमा टेकेर टाउको हान्ने भनेझैं पञ्चायतका पडितहरुलाई अगाडि उभ्याएर प्रगतीवादी साहित्यहरु गाउँ गाउँमा पु¥याउँदै जागरण पैदा गराउने काम कम चुनौतीपूर्ण थिएन । त्यसबेला सिन्धुलीमा निरंकुश पञ्चायत विरोधी राँको सल्कन थालिसकेको थियो ।
२०३२ सालमा स्थापना गरिएको जनसेवा पुस्तकालयको खारेजी त भयो तर सिन्धुलीमा प्रजातन्त्रको सुरुवातसँगै चेतना र सामाजिक सोचमा परिवर्तनको लहरले भित्र भित्रै भुसमा सल्केको आगोझैं बनाइसकेको थियो । शिक्षा र चेतनाको आवश्यकता महसुस गरेर बरिष्ठ पत्रकार दाहालकै सक्रियतामा तत्कालिन सचेत व्यक्तिहरुको पहलमा जनसेवा पुस्तकालयको फेरी स्थापना गरियो । त्यसका निम्ती तत्कालिन प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले पञ्चायतकालिन पुस्तकालय खारेजीको निर्णयलाई उल्टाइदिए । पुस्तकालयको २ कठ्ठा जग्गामा नेपाल पत्रकार महासंघले निर्माण गरेको घरमा आधा आधा स्वामित्व रहनेगरी ऐतिहासिक पुस्तकालय स्थापना गरिएको हो । पुस्कालयका अध्यक्ष दाहाल बेला–बेला गुनासो गर्नुहुन्छ । लामो ऐतिहाँसिक विरासत बोकेको पुरानो पुस्कालय अहिले क्रमशः धरासायी बन्दै गएको प्रति संस्थापकहरु चिन्तित हुनु स्वभाविकै हो । तर, त्यसलाई समय सापेक्ष बनाउन कसैको पहल भएन भन्नुहुन्छ दाहाल । जमाना कहाँबाट कहाँ पुगिसक्यो । डिजिटल दुनियामा हो यो । कसैलाई किताब पढ्ने फुर्सद छैन, अध्यक्ष दाहाल अगाडि भन्नुहुन्छ ‘यस्तो अवस्थामा पुस्तकालयको स्वरुप र सेवामा परिवर्तन आवश्यक छ ।’
पुस्तक पढ्ने संस्कृति हराएर गएको लेखक तथा साहित्यकारहरु बताउँछन् । ‘अहिले सबैको हातहातमा स्मार्ट फोन छ । एक क्लिकको भरमा संसार पढ्न पाउने सुविधा हुँदाहुँदै पुस्कालयमा पुगेर पुस्तक पढ्न को जाने ? युवा साहित्यकार सुरज कोइरालाले भने, ‘खोज, अनुसन्धान गर्नेहरुले ईन्टरनेटमा नपाउने विषय थाहा पाउन मात्र पुस्तकालय जाने अवस्था आयो ।’ युवा पुस्ता ईन्टरनेटको खोज गर्न चाहेको देखिन्छ । पुरानो पुस्ता पुस्तकालयसम्म पुगेर अध्ययन गर्ने अवस्थामा छैन ।
अहिले सिन्धुलीमा जनसेवा पुस्तकालय मात्रै जिवित छ । जिल्लाका अन्य पुस्तकालय करिब–करिब मृत अबस्थामा छन् । पुस्तक पढ्ने संस्कृतिको विकास नहुनु एकातिर समस्या छ, भने अर्कातिर डिजिटल प्रविधिको जमानामा पुस्तक पढ्ने फुर्सद कसैलाई पनि छैन । यस्तो अवस्थामा पुस्तकालयको स्वरुपमा परिवर्तन गरी प्रविधियुक्त बनाउनुपर्ने जानकारहरु बताउँछन् । तर, त्यसका लागि जनसेवा पुस्तकालयले मात्र परिवर्तन गर्न सक्ने अवस्था छैन । त्यसमा स्थानीय सरकारले प्राथमिकतामा पार्नु जरुरी देखिएको छ ।