सिन्धुली÷स्थानीय सरकारलाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरेका स्थानीय वासिन्दाको आवाजलाई बेवास्ता गरिएपछि कमलामाई नगरपालिका पानीट्यांकीका स्थानीयहरु आफ्नो सडक आफैं बनाउन जुटेकाछन् ।
कमलामाई ६ बर्देउटारमार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो सडक मर्मत गरिदिन स्थानीयले पटक पटक नगरप्रमुखलाई आग्रह गरेका थिए । तर नगरको आव २०७९÷०८० को वार्षिक योजनामा समेटिएन । अर्थात यो बाटो मर्मतका लागि रमक बिनियोजननैं भएन । निर्वाचनका बेला भने नगरप्रमुखले यो बाटो बनाईदिने बचन दिनुभएको थियो । निर्वाचनका बेला गरेको प्रतिवद्धता पुरा नभएपछि आक्रोसित स्थानीयहरुले मंगलवार बिहानैं भेला भएर खाल्डा खुल्डी भएका ढलान सडक मर्मत गर्न कस्सिए ।
हातमा बेल्चा बोकेर निस्किनुभएका बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङ र शिक्षक रामवहादुर खड्का बिग्रेको सडकमा उभिएर स्थानीय वासिन्दालाई बोलाउनु भयो । त्यस लगत्तै गौमती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलवहादुर केसी, कमलामावि सिलामेका प्रधानाध्यापक विष्णु फुयाँल कर्नी र साबेल बोकेर निस्किनुभयो । नजिकै रहेका टोलविकास संस्थाका अध्यक्ष रामेश्वर कार्की, ध्यानवहादुर घलान, शिक्षक लोकवहादुर कार्की सडकमा निस्किएर सबैलाई खबर गरे । क्षणभरमैं पचास साठी जना स्थानीयहरु भेला भए । भखैरै मात्रै कार्यपालिका सदस्यमा निर्वाचित भएका राजन भुजेलले २ बोरा सिमेन्ट ल्याईदिनुभयो । गाडी लिएर चलाएर बजार निस्किनुभएका व्यवसायी टंक कार्कीलाई सडक बनाउन बस्नुप¥यो, तपाई हामी सबै मिलेर बनाउनु पर्छ भन्नासाथ म २ बोरा सिमेन्ट लिएर आउँछु भन्दै गाडी फर्काएर सिमेन्ट ल्याएर काममा खटिनुभयो । र्देउटारका ट्याक्टर व्यवसायी डण्डवहादुर थापाले एक ट्याक्टर गिटी र वालुवा लिएर आउनुभयो । मर्निङवाकमा निस्किएका निलकमल इन्टरप्राइजेज र जय जय हार्डवेयरका प्रोपाइटरले २–२ बोरा सिमेन्ट उपलव्ध गराइदिने बताउँदै गोदाममा फोन गरेर लिन आउँदैछन्, बाहिर निकालिराख भनिदिए । क्षणभरमैं सबै निर्माण सामाग्री जम्माभयो भने स्थानीय दिपा भण्डारीले पानी उपलब्ध गराएपछि एउटा टोली गिट्टी बालुवा र सिमेण्ट मोल्न थालेभने अन्यले ढुंगा सोलिङ गर्न थाले । बजारबाट फर्कंदै गरेका मेयरका प्रत्यासी महेन्द्रदेव श्रेष्ठ पनि काम गर्न कस्सिए । भत्किएको सडक गाउँलेहरु आफैंले बनाउँदैछन् भन्ने सूचना पाएका वडाध्यक्ष उज्वलकुमार थापाले त्यसले मात्रै हुँदैन बाटो पनि ठूलो बनाउनु पर्छ भनेर नगरपालिकाको जेसिभि चालकलाई फोन गरेर पठाइदिनुभयो । जेसिभि आएर बायाँ तर्फको सडक किनारमा भएको माटोहरु हटाउन थाल्यो । सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले सडकमा रहेको खानेपानीको पाइप हटाउन लगाएर सडक चौडा बनाउन लगाउनुभयो । स्थानीय वासिन्दा जुटेर करिव २ घण्टाकै समयमा सबै काम सम्पन्न भयो ।
पटक पटक मोटरवाइकल चालकहरु दुर्घटनामा परेको दृश्यले आक्रान्त भएका स्थानीयहरुले यति छिटो काम सम्पन्न हुन्छ भन्ने सोचेकै थिएनौं, स्थानीय वासिन्दा सुनिल अधिकारीले भन्नुभयो । निकै लामो समयसम्म स्थानीय सरकारले बाटो बनाइदिन्छ कि भनेर मुख ताकेर बस्यौं तर नगरपालिकाको प्राथमिकतामा नपरेपछि दुर्घटना भएको हामीहरुले टुलुटुलु हेरेर बस्न सकेनौं, सबै गाउँलेहरुको सहयोगमा बनाउन सक्यौं, स्थानीय भिटु सुनुवारले भन्नुभयो । आफ्नो गाउँको समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने उदाहरण आजबाट देखिएको छ, गौमती क्याम्पसका क्याम्पसप्रमुख दिलवहादुर केसीले भन्नुभयो ।






