बिवादास्पद स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध तुलसीपुर प्रहरीमा अभद्र व्यवहारमा जाहेरी

लुम्बिनी प्रदेशसभा सदस्य उत्तरकुमार वलीको २०७५ सालमा सडक दुर्घटनामा मृत्यु भयो । श्रीमानको मृत्युपछि राजनीतिमा उदाइन् विमला वली । जबदेखि राजनीतिमा आइन्, निरन्तर एकपछि अर्को स्क्यान्डलले उनलाई छोडेको छैन ।
नेकपा एमालेका नेता शंकर पोखरेलले विधवा विमलालाई राजनीतिमा डोर्‍याएका थिए । तर, गत वर्ष उनै पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन विमलाले भूमिका खेलिन् । यति मात्रै होइन । उनले आफूलाई मुख्यमन्त्रीले उनकै निवासमा बन्धक बनाएको गम्भीर आरोपसमेत लगाएकी थिइन् ।

वलीविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। मंगलबार अपरान्ह मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी हुन।

जाहेरीमा उनले आफूलाई मिनाले बेडरूममै गएर कुटपिट गरेको बताएकी छिन्। प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छिन्।

त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरून्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाइ छ।

त्यस क्रममा आफ्नो कपाल लुछेर  आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाईसमेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन्।

दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरूद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन।

को हुन बिवादास्पल वली
विमलाका पति उत्तरकुमारले ०७४ सालको चुनावमा एमालेबाट प्रदेशसभा सदस्य जितेका थिए । ०७५ फागुन १० गते दाङको घोराही लमही सडक खण्डको चिसापानीमा सडक दुर्घटना हुँदा उनको निधन भएको थियो ।
श्रीमानको मृत्युपछि ०७६ मंसिर १४ गते भएको उपचुनावमा दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ ९ख० बाट निर्वाचित वली नेकपाका तर्फबाट लडिन् र जितिन् । उनले ५ हजार एक सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मालाई हराएकी थिइन् । वलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वीले १९ हजार १ सय ८२ मत पाएका थिए ।
एमाले नेता शंकर पोखरेलका अति विश्वासपात्र उत्तरकुमारको मृत्युपछि भएको उपनिर्वाचनमा पार्टीमा लामो योगदान गरेकालाई स्थान दिनुपर्ने दबाब आए पनि उनले विमलालाई नै अगाडि सारेका थिए । पोखरेलले स्वर्गीय उत्तरकुमारको सपना पूरा गर्न विमलालाई उम्मेदवार बनाएको भन्दै आफै निर्वाचनमा होमिएका थिए । त्यो समय एमाले र माओवादी मिलेर नेकपा बनेको थियो ।
एमाले र माओवादी अलग भएपछि विमला स्वतः एमालेमा लागिन् । पार्टी विभाजनपछि बसेको एमाले संसदीय दलको बैठकमा उनी सहभागी भएको र एमाले दाङ जिल्ला कमिटीको बैठकमा पनि पटक–पटक सहभागी भएको प्रमाण गत साल नै एमालेले सार्वजनिक गरेको थियो । तर माओवादीले भने विभाजनपछि वलीले माओवादी रोजेको दाबी गर्दै आएको छ । माओवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका शंकर पोखरेलले राजीनामा दिएर पुनः शपथग्रहण गर्ने तयारीका समयमा सांसद वलीले माओवादी प्रवेश गर्न लागेको विषयले खैलाबैला मच्चिएको थियो ।
रुकुम पुर्ख्यौली माइती भए पनि वली नेपालगन्जमै जन्मी–हुर्केकी हुन् । त्यसअघि कहिल्यै पार्टीको काममा जोडिएकी थिइनन् । कलेज पढ्नका लागि नेपालगन्ज पुगेका स्वर्गीय सांसद वलीसँग उनले प्रेम विवाह गरेकी थिइन् ।
विमला गत साउन १५ गते एकाएक सम्पर्कविहीन भएपछि माओवादीले तत्कालीन सरकारको नेतृत्व गरेको एमालेलाई अपहरण गरेको आरोप लगायो । एमालेले माओवादीले लुकाएको दाबी गर्‍यो । एक साताको बीचमा उनी एमालेबाट माओवादी तथा माओवादीबाट एमाले र पुनः माओवादीमै गएको समाचारहरू आए ।

पछिल्लो पटक साउन २० गते उनी पत्रकार सम्मेलनमा झुल्किइन् । उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको योजनामा एमाले सचेतक भूमिश्वर ढकालसहितको टिमले आफूलाई दाङबाट अपहरण गरेर मुख्यमन्त्रीकै निवासमा बन्धक बनाएर राखेको सनसनीपूर्ण दाबी गरिन् । तर उनको दाबी कतैबाट पुष्टि हुन सकेन । कोही कसैलाई यो विषयमा कारबाही पनि भएन ।

साउन २८ गते विमलासहितका सांसदहरूको समर्थनमा माओवादी नेतृत्वको अहिलेको सरकार बन्यो । सुरुमै उनी मन्त्री बन्ने विषय बाहिर आए पनि माओवादीभित्रकै महिला सांसदहरूको आपत्तिले केही सातापछि मात्रै उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा०, जनमोर्चाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

गत वर्ष भदौ महिनामा विमलाको प्रेम प्रकरण सार्वजनिक भयो । उनका प्रेमी एकराज बस्नेतले आफ्नो फेसबुक स्टोरीमा विमलाले गालामा चुम्बन गरेको तस्बिर पोस्ट गरे । तस्बिरमा विमलाको सिउँदो सिन्दूर रंगिएको थियो । पछि उनीहरू दुवैले यो तस्बिर फोटोसप गरिएको दाबी गरे । विमलाले एकराज आफ्नो भाइजस्तो भएको बताइन् ।

तर, १० महिनापछि उनीहरूको सम्बन्ध छताछुल्ल बनेको छ । उनै बस्नेतको घरमा पुगेर राज्यमन्त्री विमलाले उनकी श्रीमतीलाई हातपात गरेकी छन् । प्रदेश सांसद र मन्त्रीकै जिम्मेवारीमा रहेको व्यक्तिले आफ्नो सुरक्षा दलको सदस्यसँगै एक महिलाको घरमा घुसेर हंगामा गर्नु सानो विषय होइन ।

यो बीचमा विमलाका छोराहरूको अंश विवादमा परिवारकै सदस्यले मुद्दा दर्ता गरे । छोराहरूको रेखदेखका विषयमा उनकै श्रीमानका दाजुभाइ आश्वस्त हुन सकेनन् । स्वार्थका कारण राजनीतिक रूपमा दल अदलबदलको आरोप लाग्यो र उनको आचरणमा समेत प्रश्न उठ्यो । जसरी पनि चर्चा र विवादमा छाइरहिन् विमला ।