स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन्।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कार्यक्रममा उनले विगतका क्रान्तिकारी सत्तालाई जीवन्त राख्दै जनवादी र लोकतान्त्रीकरण गर्नुपर्ने बताए।

अध्यक्ष दाहालले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर माओवादी केन्द्रले प्रमुख जितेका पालिकाहरूलाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणका रूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै त्यसका लागि त्याग, तपस्या र मेहेनत गरेर काम गर्न निर्देशन दिए।

उनले भने, ‘हामीले विजय हासिल गरेका १२१ पलिकालाई समाजवादी सत्ताका भ्रुणहरू बनाउने र पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने खाँचो छ। म तपाईंहरूलाई भन्न चाहन्छु, पालिकामा प्रत्येक निर्णय गर्नुअघि जनताको राय बुझ्ने मेकानिजम बनाउनुहोला, के गर्न उचित हुन्छ, सुझाव लिनुहोला। जनताबाट आलोचना र सुझाव निरन्तर प्राप्त हुने र त्यसको सुनुवाइ भइरहने कार्यक्रम बनाउनुहोला।’

अध्यक्ष दाहालले निर्वाचित जनप्रतिनिधिलाई माओवादी केन्द्रले जितेको पालिकामा जनताको राय, सल्लाह लिएर निर्णय गर्ने गरेका छन् भन्ने पार्ने गरी काम गर्न निर्देशन दिए। माओवादी पार्टी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको उनको भनाइ छ।

अध्यक्ष दाहालले पछिल्लो समय पार्टी पहिचानको सङ्कटमा परेको र जनतामा सबै पार्टी एउटै हुन् भन्ने परेकाले फरक देखिने गरी काम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामी अहिले पहिचानको क्राइसिसमा छौँ। क्रान्तिकारी, जनयुद्धबाट आएको, जनआन्दोलन, गणतन्त्रका बाहक भनेर कुरामा पहिचान छ तर व्यवहारमा त्यस्तो छैन। जनताले हेर्दा माओवादी, कांग्रेस, एमाले सबै व्यवहारमा उस्तै छन्। अब यसपटक त्यस्तो हुनु हुँदैन।’

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने आँकलन गरिए पनि प्रभावकारी गठबन्धन नभएकाले आशातित नतिजा प्राप्त नभएको उल्लेख गरे। माओवादी प्रभाव भएका कतिपय जिल्लाहरूमा गठबन्धनका दलहरूले तालमेलको मर्मविपरीत एमालेसँग तालमेल गरी माओवादीलाई पराजित गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले यस विषयमा गठबन्धनभित्र समीक्षा गरिने बताए।

अध्यक्ष दाहालले अहिलेको सत्तारुढ गठबन्धनलाई आगामी सङ्घ र प्रदेश निर्वाचनमा समेत कायमै राखिने बताउँदै स्थानीय तहमा भन्दा आगामी निर्वाचनमा गठबन्धन गर्न सहज हुने विश्वास व्यक्त गरे।