सिन्धुलीको जिल्ला समन्वय समितिमा माओवादी र काँग्रेसको प्यानल विजयी

जिल्ला समन्वय समिति सिन्धुलीमा गठबन्धन दलका माओवादी केन्द्र र नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ।

गठबन्धन दलका काँग्रेस र माओवादी मिलेर नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनलाई हराउदै नेकपा माओवादीका कार्साङ लामा जिल्ला समन्वय समिति सिन्धुलीको प्रमुखमा निर्वाचित भएका हुन्। लामाले १४ मत प्राप्त गरेका थिए भने नेकपा एकीकृत समाजवादीका सुर्य पाख्रिनले ४ मत पाएका थिए।  

यस्तै उपप्रमुखमा नेपाली काँग्रेकी शान्ता कार्की निर्वाचित भएकी छिन्। उनले नेकपा एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार बनेका सोमबहादुर बललाई हराउदै निर्वाचित भएकी हुन्। कार्कीले १४ मत पाएकी थिइन् भने बलले ४ मत पाएका थिए। अन्य सदस्यहरु काँग्रेस र माओवादीकै निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत धुब्रप्रसाद सापकोटाले जानकारी दिए।

नेकपा माओवादीबाट तीनपाटन गाउँपालिकाका दानबहादुर तामाङ र फिक्कल गाउँपालिकाका सुनिता थापामगर निर्वाचित भएका छन् भने काँग्रेसबाट सुनकोसी गाउँपालिकाका सुर्यबहादुर तामाङ कलमामाई नगरपालिकाका उत्पल खड्का, दुधौली नगरपालिकाका पुष्पाकुमारी धामी, फिक्कल गाउँपालिकाका बालकुमारी धामी र गोलञ्जोर गाउँपालिकाका गोकर्णबहादुर सार्की सदस्यहरुमा निर्वाचित भएका छन्।

दुई नगरपालिका र सात गाउँपालिका रहेको सिन्धुलीमा स्थानिय तहको निर्वाचनमा गठबन्धन हुँदा नेकपा एकीकृत समाजवादीलाई जिल्ला समन्वय प्रमुख दिने सहमति भएपनि माओवादी र काँग्रेस मिलेर जिल्ला समन्वय समितिमा उम्मेदवारी दर्ता गराएपछि एकीकृत समाजवादीका सुर्य पाख्रिनले नेकपा एमालेको समर्थनमा जिल्ला समन्वय समितिमा उम्मेदवारी दिएका थिए।