भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदका बारेमा अपमानजनक टिप्पणी गरेको भन्दै अहिले भारतमा हिंसात्मक प्रदर्शन भइरहको छ। उनलाई पक्राउ गर्न माग गरिएको छ।
शुक्रबारको नमाजपछि भारतका धेरै सहरमा विरोध प्रदर्शन भएको छ। धेरै सहरमा प्रहरीमाथि ढुंगामुढा पनि भएको थियो।
भीड हटाउन र्यापिड एक्सन फोर्सले अश्रुग्यास प्रहार गर्नुपरेको थियो। प्रदर्शनकारीले सडकमा पार्किङ गरेका धेरै रिक्सामा आगजनी गरेका छन्।
हैदरावादको मक्का मस्जिदबाहिर मानिसहरूले प्रदर्शन गरेका छन्। राजधानी दिल्लीको जामा मस्जिदबाहिर पनि प्रदर्शनकारीले हातमा पोस्टर र ब्यानर बोकेर नाराबाजी गरिरहेका छन्।
यसैबीच सहारनपुरमा सडकमा विरोध प्रदर्शन भइरहेको छ। केहीले हातमा ब्यानरसँगै झन्डा पनि बोकेका छन्।
लखनउका मस्जिदहरूमा पनि मानिसको भीड जम्मा भएको छ। लखनउको मस्जिद बाहिर कडा सुरक्षा व्यवस्था गरिएको छ। प्रहरीले ड्रोनमाथि निगरानी गरिरहेको छ।
पश्चिम बंगालको हावडामा सयौं मानिसले विरोध प्रदर्शन गरेका छन्। मानिसहरूले आपत्तिजनक टिप्पणी गर्ने भाजपा नेताहरूको पुत्ला समेत जलाएका छन्।
मुम्बई तथा महाराष्ट्रका विभिन्न स्थानमा सयौं महिलाहरूले पैगम्बर मोहम्मदको बारेमा विवादास्पद टिप्पणी गरेकोमा भाजपा नेताहरू विरुद्ध र्याली निकालेका छन्। यसका साथै सोलापुरमा ठूलो संख्यामा मानिस जम्मा भएर नाराबाजी गरेका थिए।
उत्तर प्रदेशका विभिन्न सहरहरूमा सयौं मानिसहरूले विरोध प्रदर्शन गर्दै पैगम्बर मोहम्मदमाथि आपत्तिजनक टिप्पणी गर्नेहरूलाई पक्राउ गर्न माग गरेका छन्।
उत्तर प्रदेशको मुरादाबादमा सयौं मानिसले नाराबाजी गरेका छन्। मानिसहरूलाई हटाउन प्रहरीले बल समेत प्रयोग गर्नुपरेको थियो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रहरीलाई ढुंगा हान्ने माथि कडा कारबाही गर्न निर्देशन दिएका छन्।
के हो नुपुर शर्मा प्रकरण ?
भारतीय जनता पार्टीकी प्रवक्ता नुपुर शर्माले मे २६ मा एक टिभी कार्यक्रममा पैगम्बर मोहम्मदविरुद्ध आपत्तिजनक टिप्पणी गरेकी थिइन्।
यस विषयमा एक दर्जनभन्दा बढी मुस्लिम देशले विरोध जनाएपछि कतार र इरानले भारतीय राजदूतलाई बोलाएका थिए।कतारले यस विषयमा भारतसँग माफी माग्न समेत माग गरेको थियो।
विवाद बढेपछि भाजपाले नुपुर शर्मालाई पार्टीबाट निलम्बन गरेको थियो। सामाजिक सञ्जालमा नुपुर शर्माको विरोध भइरहेको छ। ज्यान मार्ने धम्की समेत आइरहेको उनको दाबी छ। नुपुर शर्मालाई धम्की आएपछि दिल्ली प्रहरीले सुरक्षा दिएको छ।
यसबाहेक दिल्ली पुलिसले नुपुर शर्मा विरुद्ध आईपीसीको धारा १५३, २९५, ५०५ अन्तर्गत मुद्दा दर्ता गरेको छ।