पुराना नेता र फेरिएका मतदाता


स्थानीय तहको चुनावले थुप्रै सन्देश दिएको छ । अन्तिम नतिजा आउन बाँकी नै भएपनि राजनीतिक सन्देशको संकेत भने प्रष्ट भइसकेको छ । पहिलो दल नेकपा एमालेले ठूलो धक्का बेहोर्दै तेस्रो शक्ति बनेको छ । एमालेले पाँच वर्षभित्रै सय सिट हाराहारी गुमाएको छ । ०७४ को चुनावमा २९४ सिट जितेको एमाले पहिलो दल थियो । दोस्रोमा रहेको नेपाली कांग्रेसले २६६ सिट मात्रै जितेको थियो । तर यसपटक कांग्रेस ठूलो शक्ति बनेको छ । कांग्रेसले मंगलवार साँझसम्म ४ स्थानीय तहमा अग्रता र ३२२ स्थानमा जितेको छ । कांग्रेसको यो जित ३० वर्षपछि फर्किएको हो । एमालेले अहिलेसम्म २०३ स्थानीय तहमा बिजय हाँसिल गरेको छ भने २ स्थानमा अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रले भने आफ्नो हैसियत स्थीर राखेको छ । १०६ स्थानीय तहबाट माओवादी केन्द्रले यसपटक १२१ स्थान जितिसकेको छ भने १ स्थानमा अग्रता छ ।
एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले १९ स्थानीय तह जितेको छ भने १ स्थानमा अग्रता छ । यसलाई एकीकृत समाजवादीले अपेक्षाकृत भनेको छैन । एमालेकै संस्थापक माधवकुमार नेपाल र झलनाथ खनाल सहित ठूलो संख्याका नेताहरुले सामेल भएको एकीकृत समाजवादीले एमालेले पाएको जितलाई पनि स्वभाविक मानेको छैन । एमाले अझ सानो भएको देख्ने उसको चाहना थियो । तर विभाजित हुने कम्युनिष्टहरुलाई मतदाताले नरुचाएर कांग्रेसलाई मत दिएको छ । त्यो भन्दा पनि ठूलो सन्देश भनेको यसपटक गैरदलीय उम्मेद्वारले प्रमुख शहरहरु जितेका छन् । राजधानी काठमाडौं, धरान उपमहानगर र धनगढी उपमहानगरमा गैरदलीय उम्मेद्वार विजयी भए ।
यसले चुनाव जित्न ठूलै दलको साहरा लिनुपर्छ भन्ने पुरानो मानसिकता बदलिएको छ । अब चुनाव जित्नलाई जनताको मन छुने एजेण्डा पुग्ने सन्देश यसपटक मतदाताले दिएका छन् । राष्ट्रिय राजनीतिमा दलहरुले खेलेको भूमिकाको राम्रो मूल्यांकन हुन्छ भन्ने प्रष्ट सन्देश हो, यो चुनावको । त्यस बाहेक जनप्रतिनिधिहरुकै निम्ति पनि ठूलो सन्देश मतदाताले दिएका छन् । अघिल्लो पटक चुनाव जितेका ठूला शहरकै प्रतिनिधिहरु यसपटक पराजित भए । उनीहरु जस्ता कयौं जनप्रतिनिधिको दोहोरिने चाहना पुरा भएन । कोही जनप्रिय कामले दोहोरिए भने कोहीले पितृ, विदेशीएका र विवाह भएका छोरी चेलीहरुको नाममा मत खसालेर आफ्नो पक्षमा पल्लाभारी पारे ।
अहिलेको परिणामले मतदाताको मन जित्न नसके चुनाव जित्न कठिन पर्ने पनि सन्देश दिएको छ । त्यसैगरी अहिलेको स्वतन्त्र उम्मेदवारको विजयले अब नेपालमा दलहरुको पसल धेरै समय चल्न नसक्ने ठाउँमा पु¥याईदिएको छ । बुढाखाडालाई उम्मेदवार बनाएकै भरमा चुनाब जितिदैन र अवको निर्णायक शक्ति युवाहरुनैं हुन् भन्ने जर्वजस्त सन्देश स्थानीय चुनावले दिएको छ । यसबाट अहिलेका दलहरुले गंभीर पाठ सिक्दै आफुलाई रुपान्तरण गर्न जरुरी छ ।