बलात्कारको आरोप लगाउने युवतीलाई नै साढे तीन वर्ष जेल सँजाय, युवकले पाए सफाइ

जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले यस्तो कठोर निर्णय लिएको हो । गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषसँग सहमतिमा यौन सम्पर्क राखी पछि किशोरीले बलात्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उजुरी दिएकी थिइन् ।

ती युवतीले फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको र आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११ः३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् । तर पुरुषले जबर्जस्ती करणी नगरेको, सहमतिमा नै यौन सम्पर्क भएको बयान दिएका थिए ।

‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन भनेपछि हामी फर्किएका हौँ,’ आरोपी युवकले बयानमा भनेका थिए ।
सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने आशंकाले बलात्कारको मुद्दा दायर गरेको बताएकी थिइन् । सोही आधारमा अदालतले उजुरीकर्ता युवतीलाई नै सजाय तोकेको हो ।

अदालतले युवतीकै बयानका आधारमा सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको ठहर गरेको छ । युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका युवकलाई सफाइ दिइएको छ ।