किसान मैत्री बन्दै कमलामाई नगरपालिका !

कमलामाई नगरपालिका वडा नं. ८ रानीचुरीका कृषक बाबुराम श्रेष्ठले नगरपलिकाले उपलब्ध गराएको उन्नत जातको मकैको बिउ लगेर रापेपछि विगतको भन्दा यस पटक आफ्नो उत्पादनमा बृद्धि हुने कुरामा ढुक्क छन् । सामाजिक सञ्जाल र वडा कार्यालयमा नगरपालिकाको कृषि शाखाले जारी गरेको सूचना पढेका उनले तत्कालै कृषि शाखामा सम्पर्क गरे ।
सूचना अनुसार उनले आफुलाई चाहिने २५ किलो बिउ मकैको लागि नाम पनि टिपाए । कृषि शाखाले बिउ मकै आएको भन्दै बोलाएपछि उनले सदरमुकाम सिन्धुलीमाढी स्थित कृषि शाखामा गएर रामपुर कम्पोजिट नामको कमैको बिउ लिएर आएर लगाएपछि उनले विगत वर्षमा नफलेको मकै यस वर्ष मनग्गे फल्नेमा ढुक्कछन् ।
कमलामाई नगरपालिका वडा नं. २ का डोरनाथ गौतमले कृषि शाखाबाट ५ किलो उन्नत जातको मकैको बिउ ५० प्रतिशत अनुदानमा किनेर लगेका उनले विगतको भन्दा यसपटक भने बढी फल्ने उनको बिश्वास छ । अघिल्ला वर्षहरुमा आफ्ना छिमेकीले नगरपालिकाबाटै लगेको मकैको बीउ निकै राम्रो फलेको बताउँदै उनले भनेः कृषि प्राविधिकले सबै कुरा बुझेर मात्रै ल्याउने भएकाले हामीहरु विश्वस्त बनेकाछौं ।
मखमली महिला कृषक सहकारी संस्था कमलामाई ४ ले आफ्नो समूहका लागि २५० किलो बीउ किनेर लगेको बताएको छ । सो सहकारी संस्थाका तर्फबाट लगिएको मकैको बिउ सबै रोपिसकिएको संस्थाले जनाएको छ ।
कमलामाई नगरपालिकाको कृषि शाखाले यस वर्षका लागि पचास प्रतिशत अनुदानमा मकैको बिउ वितरण गर्न भन्दै सूचना जारी गरेपछि २ सय जना कृषकले आवेदन गरेको भएपनि १९१ जनाले लगिसकेको कृषि प्राविधिक देवी सापकोटाले जानकारी दिए । उनका अनुसार नगरपालिकाले ३६०० किलो मकैको बिउ खरिद गरेर ल्याएकोमा अहिले केही किसानहरु भने लिन आएका छैनन् ।
नगरपालिकाले सिजन अनुसार आलु र तरकारीका बिउ बिजनहरु बितरणगर्दै आएको छ । सापकोटाका अनुसार नगरपालिकाले बजार क्षेत्रलाई मध्यनजरगर्दै कौशी खेतीको विस्तारजस्ता कार्यक्रम पनि सञ्चालन गरेको थियो र त्यो निकै प्रभावकारी पनि देखिएको छ ।
कमलामाई नगरपालिका वडा नंं १ का कृषक सरोज पुलामीले कृषि शाखाबाट आलुको बिउ लगेर रोपेका थिए, उक्त आलु आफुलाई चाहिने भन्दा बढी फलेपछि तरकारी बजारमा लगेर बेचेको बताउँदै नगरपालिका किसान मैत्री भएको बताए । उनले व्यवसायिक किसानहरुलाई नगरप्रमुख खड्गवहादुर खत्रीले सहयोग गर्नुभएको बताउँदै पुलामी भन्छन्ः हामी जस्ता किसानहरुले उत्पादन गरेको कृषि उपज बिक्री गर्नका लागि निःशुल्क रुपमा नगरपालिकाले स्टलसमेत उपलव्ध गराएको छ, हामीले उक्त स्टललाई निरन्तर प्रयोग गरिरहेका छौं । (साभारः कमलामाई फिचर सेवा)- पवन राउत