पूर्वी युक्रेनी सहर खार्किभमा मंगलबार एक भारतीय विद्यार्थीको मृत्यु भएको छ। खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जहाँ रुसी सेनाको भारी गोलाबारी चलिरहेको छ।
भारतीय विदेश मन्त्रालयले ज्यान गुमाएका विद्यार्थीको परिवारसँग सम्पर्कमा रहेको बताएको छ।
‘गहिरो दुःखका साथ हामी पुष्टि गर्दछौं कि आज बिहान खार्किभमा गोलाबारीमा एक भारतीय विद्यार्थीको ज्यान गएको छ। उनको परिवारसँग मन्त्रालय सम्पर्कमा छ। हामी परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं’, प्रवक्ता अरिन्दम बागचीले सामाजिक सञ्जालमार्फत भनेका छन्।
विदेश सचिव हर्षवर्धन श्रृङ्लाले रुस र युक्रेनका राजदूतहरूलाई बोलाएर खार्किभ र अन्य द्वन्द्व क्षेत्रका सहरहरूमा रहेका आफ्ना नागरिकहरूका लागि तत्काल सुरक्षित मार्गको लागि भारतको माग दोहोर्याएको उनले थपेका छन्।
युक्रेनमा रहेको भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई तुरुन्त राजधानी किभ छाड्न आग्रह गरेको केही घण्टामै विद्यार्थीको मृत्यु भएको खबर आएको हो।
दूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरू सहित सबै भारतीय नागरिकहरूलाई रेलहरू वा अन्य कुनै पनि उपलब्ध माध्यमहरूमार्फत आज तुरुन्तै किभ छोड्न सल्लाह दिइन्छ।’
भारत सरकारले युद्धग्रस्त युक्रेनबाट छिमेकी देशहरू हुँदै आफ्ना अलपत्र परेका नागरिकहरूलाई फिर्ता ल्याउने बृहत् अभियान चलाएको छ र निकासी प्रक्रियामा सहयोग गर्न आफ्ना वरिष्ठ मन्त्रीहरूलाई पठाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय वायुसेनालाई अपरेसन गंगाअन्तर्गत निकासी प्रयासमा सामेल हुन आग्रह गरेका छन् जबकि एयर इन्डियाको विशेष उडानहरू नागरिकहरूलाई फिर्ता ल्याउनको लागि चलिरहेको छ।