एमसीसीमा ब्याख्यात्मक टिप्पणीबारे अमेरिकी राजदूतको भनाई, गृहमन्त्रीसँग खोले भित्री कुरा

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताउनु भएको छ । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिलादेखि भन्दै आएको विषयमा घोषणामा समेटिएको बताउनु भएको हो ।

एमसीसी अनुमोदन भएकोमा खुस ब्यक्त गर्दै राजदूत बेरीले घोषणाले एमसीसीको कुनै पनि प्रावधान फेरिन नसक्ने रसंसदको घोषणा नेपालको आन्तरिक बिषय भएकोले अमेरिकाले संझौता अनुमोदनको रुपमा मात्रै बुझ्ने कुरा पनि प्रष्ट पार्नुभएको छ । ‘एमसीसीबारे सरकार र प्रतिनिधि सभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौं। व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन्,’ राजदूत बेरीको भनाई थियो ।

एमसीसी निर्णयार्थ प्रस्तुत हुने बेलामा नेपाल सरकारले अमेरिकन राजदूतावास र अन्य अमेरिकी सहयोग निकायलाई प्रदान गरेको सुरक्षा व्यवस्थाका लागि राजदूत बेरीले धन्यवाद दिनुभयो। उहाँले नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधै साथमा रहने विश्वास व्यक्त गर्नुभएको छ ।

भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताउनु भयो। एमसीसी पास गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंगलबार धन्यवाद दिएको राजदूत बेरीले प्रष्ट पार्नुभएको छ ।

गृहमन्त्री खाणले नेपाल र अमेरिकाबीच अहिलेसम्म रहँदै आएको सम्बन्ध अझै गाढा र सदभावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको बताउनु भयो। भेटमा उनले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन सत्तामा हुँदा मात्र नभइ प्रतिपक्षीमा हुँदा पनि दृढ र स्पष्ट विचार राख्दै आएको पनि बताउनु भयो ।