रुसले युक्रेनमाथि सैन्य कारबाही थालेको पाँचौँ दिनमा प्रवेश गरेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी २४ घण्टा महत्त्वपूर्ण हुने यूकेका प्रधानमन्त्री बोरिस जोनसनसँगभनेका छन्। यूकेले रुसी अतिक्रमणयता युक्रेनी नेतृत्वको प्रशंसा गरेको छ। लडाइँमा आइतवार “कठिन समय” भएको भन्दै युक्रेनी फौजका प्रमुखले रुसी सेनाले “सबै दिशाबाट आक्रमण जारी राखेको” बताएका छन्
। पश्चिमा देशहरूको कडा प्रतिबन्धसँगै रुसी मुद्रा रुबलको भाउमा व्यापक गिरावट आएको छ । संयुक्त राष्ट्रसङ्घले सोमवार सबै १९३ सदस्य राष्ट्र सम्मिलित हुने आपत्कालीन छलफल गर्दैछ ।
शरण लिनका लागि आवेदन दिन नपर्नेगरी सबै युक्रेनी शरणार्थीलाई तीन वर्षका लागि स्वीकार्ने प्रारम्भिक योजनाप्रति युरोपेली सङ्घका सदस्य राष्ट्रले समर्थन जनाएका छन् । युक्रेनले अहिलेसम्म ४३०० रुसी फौज मारिएको दाबी गरेको छ, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन ।
मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर
ऊर्जाका लागि रुसमाथि युरोपेली सङ्घ ईयूको ठूलो निर्भरता छ। त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको सङ्कटबाट अलग राख्न सकिन्न। युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ।
सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय ब्याङ्क र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन्।
ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन। युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुनसक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ। ब्रसल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ।














