सिन्धुली एमालेले थाल्यो निर्वाचन केन्द्रीत अभियान

सर्वोच्च अदालतले वैशाख ३० गते निर्धारित स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेपछि मुलुक स्थानीय निर्वाचनको बाटोमा अगाडि बढेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो राजनैतिक गतिविधीलाई तिब्रता दिएको छ ।
हिजो न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले चुनाव रोक्न अन्तरिम आदेश दिन नपर्ने ठहर गरेसँगै निर्वाचनको कार्यतालिका पर सानर्ने गठबन्धन दलको षडयन्त्र चकनाचुर भएको छ भने एमाले यसबाट उत्साहित बनेको छ ।
सरकारले तोकेको वैशाख ३० को निर्वाचनले २०७४ असोजमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्ष कार्यकाल पूरा गर्ने संवैधानिक हक कुण्ठित हुने भन्दै महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले रिट दर्ता गरेका थिए ।
यसअघि साहको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध उनले फेरि निवेदन दिएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले यो विषयमा अदालतको व्याख्या जरूरी रहेको भन्दै दर्ता गर्न आदेश दिएको थियो ।
यसैबीच नेकपा एमाले सिन्धुलीले आउँदो फागुन १६ गतेसम्म सिन्धुलीका नौं वटै पालिका कमिटीको पुर्ण बैठक गरिसक्न निर्देशन दिएको छ । एमाले उपाध्यक्ष कर्ण घिसिङका अनुसार बुधवार तीनपाटन गाउँपालिका र सुनकोशी गाउँपालिका कमिटीको पूर्ण बैठक बस्दैछ । पालिका कमिटीको बैठकपछि निर्माण भइसकेका वडा कमिटी र टोल कमिटीको बैठक तथा निर्माण नभएका टोल कमिटीहरु गठन गर्ने र पार्टीलाई योजनावद्ध ढंगले अगाडि बढाउनका लागि निर्देशन दिइसकिएको छ ।
सिन्धुली एमालेले आउँदो स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर आफ्नो राजनैतिक गतिविधी अगाडि बढाएको उपाध्यक्ष घिसिङको भनाई थियो । यसैबीच सोमवार एमाले जिल्ला कमिटी सिन्धुलीको पूर्ण बैठकले जिल्ला कमिटी सदस्यहरु मनोनितगर्दै स्वीकृतिका लागि माथि पठाएको र त्यसपछि मात्रै बिभिन्न विभागहरु गठन गरिने बताइएको छ ।