सत्तारुढ नेपाली कांग्रेसले दोहोरो भूमिकामा देखिएको भन्दै एमसीसी सम्झौताको पक्षमा नउभिए गठबन्धन टुटने चेतावनी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीको पक्षमा उभिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भित्र एउटा, बाहिर अर्कै अभियानमा देखिएपछि कांग्रेसले एमसीसीको विपक्षमा उभिए थप सहकार्य नहुने प्रष्ट पारेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरूसँग आन्तरिक छलफलका दौरान गठबन्धनमा रहेका दलहरुले निर्णय गरेरै एमसीसीको पक्षमा मत नदिए सोही क्षणबाट सत्ता सहकार्य हुन टुटने प्रष्ट बटमलाइन सुनाउनु भएको छ । सत्तारुढ गठबन्धनका ५ दलमध्ये कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने अन्य जनमोर्चा बिपक्षमा उभिएको छ । माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) दोहोरो भूमिकामा रहेको छ । जसपाका नेता बाबुराम भराई पक्षमा र उपेन्द्र यादव बिपक्षमा रहेको देखिएको हो ।
माओवादी केन्द्रले एमसीसी संसदमा टेबल हुनै नदिने, टेबल गरिए सरकार छाड्ने निर्णय संसदीय दलको बैठकबाट गरे पनि सरकार छाडने गल्ती नगर्ने भन्दै बाहादुरीपुवर्क संसदमा टेवल गराउने सहमति र बिरोध दुवै काम गरेको छ । सडकमा एमसीसीबिरुद्ध कार्यकर्ता उचालेर बितण्डा मच्चाउने, सदनमा अध्यक्ष मुस्कान दिएर बस्ने, अरु सांसदलाई एमसीसीको बिरोधमा उतार्दै प्रचण्डले स्पष्ट रुपमा दोहोरो भूमिका खेल्नुभएको छ ।
प्रचण्डकै जसरी माधव नेपालले पनि दोहोरो भूमिका खेल्दै आउनु भएको छ । माधव नेतृत्वको समाजवादले सचिवालय बैठकबाटै एमसीसी सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ तर भित्रभित्रै अर्कै खेल पनि भइरहेकोले माधव एमसीसीमा मतदान गर्ने बिन्दुमा पुग्ने बिश्लेषण भइरहेको छ ।
‘एमसीसीमा राष्ट्रघात छ भनेर एमसीसी पक्षधरलाई राष्ट्रघाती करार गरिसकेपछि राष्ट्रघातीहरूसँग कुम जोडेर सरकारमा बसिरहन लाज हुन्छ कि हुँदैन ?’, प्रचण्ड–माधव र जनमोर्चाका नेताहरुलाई प्रश्न गर्दै कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक रुपमै भन्नुभएको छ ।