युक्रेनीहरु आत्तिदैनन र उक्साहटको जवाफ पनि दिँदैन : राष्ट्रपति जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले कुनै पनि प्रकारको उक्साहटको जवाफ नदिने बताएका छन् । आफूहरुलाई उक्साएर विदेशीहरुले देशको पूर्वी क्षेत्रमा युद्ध भड्काउन चाहेको भन्दै त्यसको कुनै जवाफ नदिने बताएका हुन् ।

पूर्वी युक्रेनमा विगत ८ वर्षदेखि बिद्रोही समूहले आफ्नो गतिविधि सञ्चालन गर्दै आएको छ । पछिल्लो समय रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ५० हजार भन्दा बढी सैनिक तैनाथ गरेको छ ।

यसलाई अमेरिकासहितका पश्चिमा राष्ट्रले युक्रेनमाथि रुसी आक्रमणको तयारी भनेका छन् । रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ ।

राष्ट्रपति जेलेन्स्कीले अमेरिकी तथा पश्चिामा देशका नेताहरुलाई रुसी आक्रोस वा आक्रमणको सामना युक्रेन आफैले गर्ने पनि बताएका छन् ।

बिद्रोही र युक्रेनी सेनाबीच पूर्वी क्षेत्रमा विगत तीन दिनदेखि भिडन्त भइरहेको छ । अहिलेसम्म दुई युक्रेनी सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू रुसले युक्रेनमाथि आक्रमणको मनसाय बनाएको भन्नेमा प्राप्त सूचनाका आधारमा विश्वस्त भएको बताएका थिए ।

रुसले युक्रेनमाथि आक्रमणको बहाना बनाउनका लागि रुसले सुनियोजित रुपमा घटनाक्रम विकास गर्ने प्रयास गरिरहेको आरोप पश्चिमा राष्ट्रको छ ।

यहि परिवेशमा जर्मनीको म्युनिखमा भइरहेको सुरक्षा सम्मेलनमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनीहरु नआत्तिएको र आफूहरु आफ्नो जीवन बाँच्न चाहेको बताए ।

उनले पश्चिमा राष्ट्रहरुले मस्को नीतिमा तुष रहेको आरोप पनि लगाए । उनले युक्रेनको सुरक्षाका लागि नयाँ ग्यारेन्टीको पनि माग गरेका छन् । अमेरिकी अधिकारीले यात्रा जोखिमपूर्ण हुन सक्ने बताए पनि जेलेन्स्की म्युनिख पुगेका हुन् ।