नेपालमा ५४ हजार ८२६ को कोरोना परिक्षण, भारतबाट आएका थप दुई जनामा संक्रमण पुष्टि

सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा  १ हजार १ सय ९३ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

हाल २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन्। त्यसैगरी मंगलबारसम्म आइसोलेसनमा १ सय ७ जना छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा ४ जना छन्। 

कोरोनाको बारेमा २४ घण्टामा २ हजार ३० जनाले टेलिफोनमार्फत जिज्ञासा राखेका छन्। २८ हजार १२५ ले स्वमूल्यांकन फारम भरेका छन्।

आज कोरोना संक्रमित पुष्टि भएका रौतहटका २ जना कोरोना संक्रमितलाई अस्पताल ल्याउन लागिएको छ भने उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा थिए । 

भारतीय सीमा नाका बन्द भए पनि लुकेर मानिसहरु आइरहेको कारणले कोरोना नियन्त्रणमा चुनौति थपिएको छ। लुकेर आउने र लकडाउनमा बस्न नमान्नेलाई सरकारले कारवाही गर्ने चेतावनी स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले दिएका छन् ।