जनकपुरधाम उपमहानगरपालिकाले राहतमा कुहिएकाे चामल वितरण गरेकाे स्थानीयले गुनासाे गरेका छन्।
सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न लकडाउन सुरु गरेको एक महिनापछि उपमहानगरले राहत दिने काम सुरु गरेको हो।
जनकपुरधाममा उपमहानगरपालिकाले वडा नम्बर–१६ मा राहत वितरण सुरु गर्दा राहतको चामल सडेको र ढुसी परेको पाइएको छ। चामल सडेको भेटिएपछि स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन्।
स्थानीय रामचन्द्र ठाकुरले आफूहरुलाई एक महिनापछि राहत दिँदा पनि कुहिएको चामल वितरण गरिएको बताए।
उपमहानगरको चौतर्फी विरोध हुन थालेपछि प्रदेश सरकारले पहिलो चरणको राहतको लागि उपमहानगरपालिकालाई २० लाख रुपैयाँ र जनकपुरधाम उपमहानगरपालिकाको विपद व्यवस्थापनको कोषमा विभिन्न दाता र उपमहानगरपालिकाबाट समेत छुट्याइएको रकमबाट राहत दिन लागिएको हो।
ठाकुरले राहत सामग्री घर लगेर चामलको बोरा खोल्दा चामल सडेको देखेपछि फिर्ता गरेको बताए।
जनकपुरधाम उपमहानगरले राहत वितरण गर्नको लागि विराटनगरबाट चामल खरिद गरेर ल्याएको हो। उपमहानगरपालिकाले राहत नदिएपछि १८ जना वडाध्यक्षले नगरप्रमुख लालकिशोर साहलाई घेराबन्दी गरेका थिए।
यता जनकपुरधाम वडा नम्बर १६ का वडाध्यक्ष राम अशिष पञ्जियारले जनकपुरधाम उपमहानगरले आफैले चामलको बोरा प्याक नगरेको र विराटनगरबाट नै प्याक भएर आएको दाबी गरे।
त्यस्तै जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता कुमारी मिश्रले राहतको लागि ल्याइएको चामल वर्षाको पानीले केही भिजेकोले केही चामल त्यस्तो हुन सक्ने बताइन्। उनले भनिन्, ‘यदी चामल सडेको छ भने हामी चामल फिर्ता गर्छाैँ।’
गत चैत २२ गते जनकपुरधाम उपमहानगरले बोर्ड बैठकबाट राहत वितरण गर्ने भनेर २५ वटै वडामा नामावाली संकलन कार्य प्रारम्भ गरेको थियो।
बोर्ड बैठकद्वारा प्रत्येक परिवारलाई ३० किलो चामल, तीन किलो दाल, एक लिटर खानेतेल र दुई प्याकेट नुन लगायतका सामग्री दिने निर्णय गरेपनि मेयर लालकिशोर साहले बैठकको निर्णयलाई उल्टाउँदै पछि सर्वदलीय बैठकद्वारा १५ किलो चामल, १ लिटर तेल, एक प्याकेट नुन र साबुनका साथै दाल र तरकारी वापत प्रतिपरिवार तीन सय रुपैयाँ वितरण गर्ने निर्णय गराएका थिए।
जनकपुरधाम उपमहानगरपालिकाले पहिलो चरणमा १२ वटा वडाका ७ हजार ६ सय परिवारका लागि राहत पठाएको हो। वडा नम्बर २, ३, ४, ५, ६, ८, ११, १४, १६, १७, १८ र २१ मा राहत पठाइएको छ।
वडा नम्बर २ मा ३ सय १५, वडा नम्बर ३ मा २ सय ७०, वडा नम्बर ४ मा १ हजार २९, वडा नम्बर ५ मा १ सय ४७, वडा नम्बर ६ मा ५ सय ८८, वडा नम्बर ८ मा ७ सय ५४, वडा नम्बर ११ मा ५ सय ८९, वडा नम्बर १४ मा ६ सय १५, वडा नम्बर १६ मा ५ सय ४१, वडा नम्बर १७ मा ९ सय ४१, वडा नम्बर १८ मा ६ सय १२, वडा नम्बर २१ मा १ हजार २ सय घरपरिवारका लागि राहत पठाइएको उपमहानगरपालिकाले जनाएको छ।